सुर्खेतकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि गरिएको हत्याको दोषीलाई कारबाही गर्नुपर्ने दबाब बढ्दै गएको छ । गत फागुन २३ गते भएको घटनालाई लिएर अधिकारकर्मी, विद्यार्थीलगायतले प्रभावकारी अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गर्दै दबाब बढाएका हुन् । इनिसाको परिवार र आफन्तले सामूहिक बलात्कार भएको दावी गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर–६ मा बस्दै आएकी कक्षा–११ मा पढ्दे इनिसा भदौ २३ गते बिहान ६ बजे ट्युसन पढ्न घरबाट निस्केकी थिइन् । सोही दिन विहान वीरेन्द्रनगरमा रहेको सहिद पार्क नजिकै जंगलमा शरीर रगतमा लत्पतिएको अवस्थामा प्रहरीले फेला पारेर अस्पताल ल्याएपनि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्टअनुसार यौनांगको भित्री र बाहिरी भाग च्यातिएकै कारण अत्यधिक रगत बगेपछि मृत्यु भएको देखाएको बताइएको छ ।
घटनालगत्तै इनिसाको प्रेमी र उनका ३ जना साथीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चारै जना १८ वर्षमुनिका रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप अनुसन्धान गरिरहेको भए पनि मुद्दा कमजोर बनाउन लागिएको परिवार तथा आफन्तको दावीपछि चौतर्फी दबाब बढेको हो । यसै क्रममा इनिसालाई न्याय दिलाउन माग गर्दै मकवानपुरमा पनि बिरोध प्रदर्शन र ज्ञापनपत्र बुझाउने काम भएको छ । आइतबार हेटौँडाका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले हेटौँडा बजारमा बिरोध प्रदर्शन गर्दै कोणसभा गरेका हुन् । इनिसाको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष न्यायका लागि संयुक्त राजनीतिक दलित संघर्ष समिति मकवानपुरले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेश गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत घटनाको शिघ्र छानविन गरी दोषीलाई कारवाही गर्न माग गर्दै आइतबार ज्ञापनपत्र पेश गरिएको हो ।
बलात्कार तथा हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेकाहरुले अपराध स्वीकार गरिसकेको अवस्थामा अपराधिहरुलाई बचाउने गरी विभिन्न शक्तिकेन्द्रले मुद्दालाई कमजोर बनाउने र पीडित परिवारलाई हतोत्साही गर्ने कामहरु भइरहेको आरोप ज्ञापनपत्रमा लगाइएको छ । घटनाको तत्काल निष्पक्ष, गहिरो र पारदर्शी छानविन गरी दोषीहरूलाई कडा कानुनी कारवाही गर्न तथा पीडित परिवारलाई न्याय, सुरक्षा र उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ । अनुसन्धान तथा न्याय प्रक्रियामा राजनीतिक दवाव, प्रभाव वा हस्तक्षेप हुन नदिन पनि माग गरिएको छ । लैङ्गिक हिंसा तथा जातीय विभेदका घटनामा दण्डहीनता अन्त्य गर्न राज्यका निकायहरूलाई थप जिम्मेवार बनाइनुपर्ने माग ज्ञापनपत्रमा छ । इनिसाको प्रेमीले शारीरिक सम्पर्क भएपछि धेरै रगत बगेर बेहोस भएपछि साथीहरुलाई खबर गरेको स्वीकार गरिसकेको र पोष्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि मृत्यु भएको पुष्टि गर्दछ । परिवार तथा आफन्तले दावी गरेजस्तो सामूहिक बलात्कार हो वा होइन र नियोजित हत्या हो वा होइन भन्ने एकिन गर्न प्रहरीले थप अनुसन्धान गर्नु आवश्यक छ ।
बेलाबेलामा देशका विभिन्न भागमा यस्ता विभत्स घटना हुने गरेका छन् । २०७५ साल भदौमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी अझै पत्ता लाग्न नसकेको अवस्थामा इनिसा विकको घटना पनि यस्तै हुने हो कि भन्ने आशंका पैदा हुनु स्वभाविक छ । कतिपय यस्ता घटनामा पर्याप्त प्रमाण नपुगेको भन्दै अपराधिले उन्मुक्ति पाउने गरेको छ । शक्ति र पैसाको प्रभावमा बलात्कार र हत्याजस्तो क्रुर र अमानवीय घटनाका दोषीले उन्मुक्ति पाउने अवस्था बन्नु हुँदैन । यस्तो अक्षम्य अपराधमा संलग्नलाई कडा दण्डको व्यवस्था नहुँदा घटनाको पुनरावृत्ति भइरहने भएकाले सबै पक्षले उचित दबाब दिनु उपयुक्त हुन्छ । दोषीलाई सजाय दिलाएर इनिसालाई न्याय दिलाउन सबैले पहल गर्नुपर्छ ।
