हेटौँडाः बकैयामा मोटरसाइकलले बालिकाहरुलाई ठक्कर दिँदा ४ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार बिहान बकैया –३ हात्तिसुडेस्थित धरान चतरा सडकखण्डमा फापरबारीबाट हात्तिसुडेतर्फ जाँदै गरेको बा ७० प ६७११ नम्बरको मोटरसाइकलले पैदल स्कुल जाँदै गरेका बालिकाहरुलाई ठक्कर दिएको थियो । दुर्घटनामा पैदल जाँदै गरेका बालिकाहरु बकैया–३ बस्ने १३ वर्षीय ईशा राई, १४ वर्षीय दिक्षा राई र बकैया –८ दमार बस्ने जमुना दहाल घाइते भएका थिए । घाइते बालिकाहरुमध्ये दिक्षा र जमुना उपचारपछि घर फर्किसकेका छन् भने ईशा मकवानपुर सहकारी अस्पतालमा उपचाररत छिन् । दुर्घटनामा मोटरसाइकल चालक बकैया –३ जलजले बस्ने २४ वर्षीय अर्जुन भोलन पनि घाइते भएका छन् । निजको भने मकवानपुर सहकारी अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।
