हेटौँडा : कक्षा १० को शैक्षिक गतिविधिको समाप्ति पश्चात एसईईको तयारीमा रहेका चितवनस्थित नेपाल प्रहरी स्कुलका विद्यार्थीहरुले ट्राफिक नियम सम्बन्धी जानकारी लिएर एक दिन सामाजिक सेवा अन्तर्गत ट्राफिक स्वयम्सेवकको रुपमा कार्य गरेका छन् ।
चितनवस्थित नेपाल प्रहरी स्कुलमा कक्षा १० मा अध्ययनरत छात्र–छात्रहरुले सोमबार नारायणगढको सडकमा एक दिन ट्राफिक स्वयम्सेवकको रुपमा कार्य गरेका हुन् । नजिकिँदै गरेको एसईई पश्चात प्रहरी विद्यालय छाड्ने विद्यार्थीलाई लक्षित गरेर सचेतनामूलक कार्यक्रम एवम् विद्यार्थीलाई सामाजिक उतरदायित्व बहन गर्न सक्ने आचरण व्यवहार प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो ।
विद्यार्थीलाई नेपाल प्रहरीको दैनिक कामकारबाही, अपराध अनुसन्धान एवम् विभिन्न विषयका कानूनी ज्ञानका साथै सवारी तथा यातायात व्यवस्थापन सम्बन्धी महत्वपूर्ण प्रावधान, ट्राफिक नियम, कारबाही, जरिवाना एवम् सवारी दुर्घटना न्यूनीकरणमा एक जिम्मेवार नागरिकको भूमिका सम्बन्धमा सचेतना प्रदान गरिएको छ । सचेतना कक्षामा सहभागी छात्र–छात्राहरुले आफूले सिकेका जानकारीहरुलाई ट्राफिक प्रहरीसँगै सडकमा खटिएर ट्राफिक स्वयम्सेवकको भूमिका समेत निर्वाह गरेका थिए ।
ट्राफिक प्रहरीसँगै नारायणगढको विभिन्न व्यस्त चोकमा परिचालित ट्राफिक स्वयम्सेवक विद्यार्थीले सवारी नियम उल्लंघन गर्नेहरुलाई कारबाही गर्न सहयोग गर्ने, जेब्रा क्रसिङबाट बाटो काट्न सहयोग गर्ने, सडक प्रयोगकर्ताहरुलाई सुरक्षित सडक प्रयोग गर्ने सम्बन्धी जानकारी दिने लगायतका कार्य सम्पादन गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनसँग समन्वयमा ५३ जना विद्यार्थी सहभागी भएको समादेशक प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्लि नारायण पाण्डे, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी, जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापा, स्कुलका शिक्षक एवम कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
