हेटौँडा : हेटौँडामा जारी मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा जारी प्रतियोगिताको क्वार्टरफाइनलका खेलहरु सोमबार भएको हो ।

सोमबार भएको पहिलो क्वार्टरफाइनल खेलमा मंगलेश्वर युवा क्लबे मिलन युवा क्लबलाई २५–२० र २५–१४ को सोझो सेटमा परािजत गरेर सेमिफाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा नवप्रतिभा साँस्कृतिक युवा क्लबले बागमती गाउँपालिकालाई २५–१९ र २५–१८ को सेटमा पराजित गर्‍यो । यस्तै तेस्रो खेलमा मनहरी गाउँपालिकाले सफल केयर क्लबलाई २५–१२ र २५–२२ ले र चौथो खेलमा छहारी युवा सेवा समाजले पशुपति युवा क्लबलाई २५–१४ र २५–१८ को सोझो सेटमा पराजित गरेर प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेको हो । सेमिफाइनल खेल मंगलबार बिहान ८ बजेदेखि हुनेछ भने फाइनल खेल दिउँसो २ बजे हुनेछ ।

प्रतियोगितामा मकवानपुर जिल्लाका ८ वटा टोली सहभागी छन् । प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । सेमीफाइनलमा पराजित हुने दुई टिमले १५/१५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरुलाई नगदसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।