मकवानपुरको क्रिकेट टिम ।

हेटौँडा : काठमाडौंमा जारी प्रधानमन्त्री कप बागमती प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा मकवानपुर पराजित भएको छ । आइतबार भएको खेलमा मकवानपुर चितवनसँग ९ रनले पराजित भएको हो । पहिलो इनिङ्सपछि वर्षाका कारण खेल प्रभावित बनेको थियो । वर्षा रोकिएपछि सुरु भएको दोस्रो इनिङ्स ४३ ओभरमा छोट्याइएको थियो ।

टस जितेर पहिले व्याटिङ गरेको चितवनले सातौं नम्बरमा आएका दिपेश श्रेष्ठको उत्कृष्ट प्रदर्शनका बाबजुद १ सय ५० रनमै समेटिएको थियो । दिपेशले ७१ रनको उत्कृष्ट पारी खेले । १३ ओभर ३ बलमा ४८ रन जोड्दा चितवनले ६ विकेट गुमाएको थियो । ८ विकेट गुमाएर ७० रनको स्थितिमा दिपेशले उत्कृष्ट खेल्दै १५० सम्म पु¥याएका हुन् । नवौं विकेटका लागि दिपेशलाई सौगात ढकालले साथ दिएका थिए । सौगातको विकेट जाँदा चितवन १ सय २३ रनको स्थितिमा थियो । चितवनका रोविन शर्मा शून्यमा आउट हुँदा प्रतिक श्रेष्ठ, रोशन झा, पवन बहादुर थापा, आदर्श दुलाल र क्रिजन गुरुङ समान १ रन बनाएर आउट भए । मकवानपुरका रिजन ढकाल र सागर गजुरेलले ३/३ विकेट लिँदा रोहित ठाकुरले २ विकेट लिएका छन् ।

वर्षाका कारण ४३ ओभरमा १ सय ४३ रनको नयाँ लक्ष्य निर्धारण गरिएको थियो । मध्यम लक्ष्य पछ्याएको मकवानपुर ३२ ओभर ५ बलमा अल आउट हुँदा १ सय ३३ रन मात्रै बनाउन सक्यो । मकवानपुरका ओपनर युविन बुढाथोकीले २५, तक्षक सिम्खडाले २० रन, शुभ कंसाकारले १५ र रिजन ढकालले १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । राउण्ड रोविनको ६ खेलमध्ये ५ खेल खेलेको मकवानपुरले पाँचौं खेल हारेसँगै प्रतियोगिताको फाइनल पुग्ने सम्भावना अन्त्य भएको छ । मकवानपुरले ५ मध्ये २ खेल जितेर ४ अंक मात्रै जोडेको छ । ५ खेलमै जित निकालेको काठमाडौं फाइनल प्रवेश गरिसकेको छ भने ललितपुर ८ अंकका साथ दोस्रो स्थानमा छ । चितवन र भक्तपुरको भने समान ६ अंक छ र गणितीय आधारमा फाइनल पुग्ने झिनो सम्भावना कायमै राखेको छ ।

यस्तै आइतबार नै भएको अर्को खेलमा नुवाकोट ७ विकेटले विजयी भएको छ । वर्षाका कारण प्रभावित भई दोस्रो इनिङ्स ३६ ओभरमा छोट्याइएको थियो । पहिले व्याटिङ गरेको त्रिभुवन विश्वविद्यालयको टिमले निर्धारित ५० ओभरको खेलमा १ सय ९८ रन जोडेको थियो । त्रिभुवन विश्वविद्यालयका लागि अशोक सुनारले ६१ रन, नविन रावलले ३५ रन जोडे । वर्षाले प्रभावित भएपछि १ सय ७४ रनको नयाँ लक्ष्य पछ्याएको नुवाकोटले २३ ओभर २ बल भेट्टायो । नुवाकोटका लागि अनुभव खनालले ६० रन, योगेश बहादुर भट्ट क्षेत्रीले ५२ रन, दिनेश सुवेदीले ३६ रनको योगदान दिए । यससँगै नुवाकोटले अंकको खाता खोलेको छ । ७ वटा टिम सहभागी प्रादेशिक छनोट प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयको टिम अंक नजोड्ने एक्लो टिम बनेको छ । अब अन्तिम चरणको एक खेल बाँकी छ । अन्तिम चरणको खेलपछि शीर्ष २ स्थानमा रहने टिमले फाइनल खेल खेल्नेछ ।