हेटौंडाः रातीको समयमा एक किशोरीको घरमै गएर बलात्कार गरेको अभियोगमा बकैया गाउँपालिका–६, सानो ज्यामिरेका २४ वर्षीय सूर्यबहादुर लुङ्बालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राती करिब १ बजेको समयमा १८ वर्षीया किशोरीको घरमै गएर बालात्कार गरेको भनी परिवारका सदस्यले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले आइतबार लुङ्बालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

बारा जिल्लाको सीमा क्षेत्रमा रहेकोले बारा जिल्लाको रतनपुरस्थित अस्थायी प्रहरी चौकीले लुङ्बालाई नियन्त्रणमा लिएको थियो । अस्थायी प्रहरी चौकीले लुङ्बालाई नियन्त्रणमा लिएको भनी जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको नेतृत्वको टोलीले लुङ्बालाई आइतबार साँझ जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएको नायव उपरीक्षक रानाले बताउनुभएको छ ।