हेटौँडा : हेटौँडा अस्पतालले बहिरंग अर्थात ओपीडी सेवामा चिकित्सक व्यस्त रहेको समयमा एमआर (मेडिकल रिप्रजेन्टेटिभ) भेटघाट गर्न नपाइने निर्णय गरेको छ । शुक्रबार हेटौँडा अस्पतालले आफ्ना विभिन्न आन्तरिक समितिहरुसँग छलफल गर्दै हाललाई एमआर अर्थात् विभिन्न कम्पनीबाट उत्पादित औषधिको विवरण तथा विज्ञापन सोझै चिकित्सकसँग गर्ने व्यक्तिलाई ओपीडी सेवामा बिरामीसँग भेटघाट गरिरहेको अवस्थामा भेटघाट गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।
अस्पतालमा चिकित्सकले ओपीडीमा बिरामीलाई सेवा दिइरहेको समयमा अत्याधिक भिडभाड रहने, बिरामीको चाप बढी र समय कम हुने हुनाले यो समयमा एमआरहरुसँग भेटघाट नगर्न विभिन्न विभागमार्फत चिकित्सकहरुलाई सर्कुलर जारी गरेको डा. सापकोटाले जानकारी दिनुभयो । यसअघि चितवनको भरतपुर अस्पतालसहित देशका अन्य अस्पतालहरुले पनि ओपीडीको समयमा एमआर भेट्न प्रतिबन्ध लगाउँदै आएका छन् । हेटौँडा अस्पतालले भने पहिलोपटक यस्तो निर्णय गरेको हो ।











