उपमहानगरपालिकाको वारुणयन्त्र

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले आगलागी नियन्त्रणका लागि वारुणयन्त्र सेवालाई व्यवस्थित बनाउँदै लगेको छ । आगलागीको मौसम सुरु भइरहँदा आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न उपमहानगरपालिकाले वारुणयन्त्र सेवालाई व्यवस्थित बनाउँदै लगेको हो ।

हाल उपमहानगरपालिकासँग दुईवटा वारुणयन्त्र सञ्चालनमा रहेका छन् । यी वारुणयन्त्र सञ्चालनका लागि ३ जना चालक, १३ जना अग्निनियन्त्रक र सहयोगीहरु २४ सै घन्टा तयारी अवस्थामा रहने उपमहानगरपालिकाकी वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्र्रमुख सत्यदेवी अधिकारीले जानकारी दिनुभयो । गर्मी तथा सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना बढ्ने भएकोले उपमहानगरपालिकाले आफ्नो आधिकारिक वेबसाइटमार्फत आकस्मिक वारुणयन्त्र सेवा प्राप्त गर्न सूचना तथा सम्पर्क नम्बरहरु उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

कतै आगलागीको घटना भएमा फोन नं ५२०६७७ मा सम्पर्क गरी जानकारी गराउन सकिने महाशाखाले जानकारी दिएको छ । वारुण यन्त्र सुविधालाई सहज र अझै आधुनिक तवरले व्यवस्थापन गर्न उपमहानगरपालिकाले १० लाख बजेट विनियोजन गरेको महाशाखा प्रमुख अधिकारीले बताउनुभयो । यो बजेटले यस वर्षदेखि अग्निनियन्त्रक कर्मचारीहरुले आफ्ना सुरक्षा सामग्री लगायतका व्यवस्थापनमा खर्च गरिने उहाँले स्पष्ट पार्नुभएको छ ।

अघिल्लो आर्थिक वर्षमा उपमहानगरपालिकाभित्र १ सय स्थानमा डढेलो, २६ वटा घर तथा गोठमा आगलागी, एउटा सवारी साधनमा आगलागी, १५ वटा बिजुलीको पोल तथा १६ वटा स्थानमा सामानमा गरी १ सय ५६ वटा आगलागीका घटनामा उपमहानगरपालिकाले आगो निभाउन वारुणयन्त्रको सहायता प्रदान गरेको थियो । यस्तै, चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म १८ वटा घर गोठ, ९ स्थानमा डढेलो, एउटा सवारी साधन तथा १२ वटा बिजुलीको पोलमा आगलागी सहित ४० वटा आगलागीका घटना हुँदा उपमहानगरले आफ्नै वारुणयन्त्र मार्फत आगो निभाएको वारुणयन्त्र सेवा इन्चार्ज दिनेश राईले जानकारी दिनुभयो । सुख्खा तथा हावाहुरीको मौसम सुरु हुँदै गरेको अवस्थामा आगलागीका घटना अत्याधिक हुने हुनाले सचेत हुन पनि उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।