हेटौँडा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीमा अटो ब्रेक फेल भई नालामा कोल्टे पर्दा घाइते भएका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । गत शुक्रबार बिहान १० बजेर ३० मिनेटको समयमा ढकालटोल भित्री सडकबाट राजमार्गतर्फ आउँदै गरेको ना २ ह ३२४७ नम्बरको अटो ब्रेक फेल भई नालामा कोल्टे पर्दा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा अटोमा सवार सोही स्थानका ६५ वर्षीय रेशम उप्रेती गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा बिहीबार बिहान ८ बजेर ३५ मिनेटको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । अटो चालक मनहरी–८, सिमपानीका ४१ वर्षीय राजकुमार ढकाललाई प्रहरीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मनहरीमा राखेको छ भने घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।











