नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री बानियाँ ।

हेटौँडा:मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहतको हेटौँडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएकोे छ । बिहिबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले भवनको उद्घाटन गर्नुभएको हो । हेटौँडा अस्पतालमा २ सय सैय्या थप गर्ने गरी तयार पारिएको ५ तले भवन उद्घाटन कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मार्फत औपचारिक रुपले प्रतिष्ठानलाई भवन हस्तान्तरण गर्नुभएको थियो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयको मातहतमा निर्माण सम्पन्न भएको कुल ६ हजार ८ सय ९३ वर्गमिटर क्षेत्रफलमा बनेको सो ५ तले भवन तीन भागमा बाँडिएको छ । संघीय सरकारको २८ करोड ५४ लाख रुपैयाँमा उक्त भवन निर्माण सम्झौता गरिएको थियो । २०७८ असार १८ गते शहरी विकास तथा भवन कार्यालय मार्फत निर्माण कम्पनी बिकेओआइ/नवसिर्जनशील जेभीसँग २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । सम्झौता अवधिमा निर्माण कार्य पूरा नभएपछि २०८० मा दुइ वर्ष म्याद थप गरिएको थियो । गत पुसमा निर्माण सम्पन्न भएको थियो । १ सय ५० वटा कोठा भएको नवनिर्मित भवनमा २ सय शैय्या थप गरिनेछ ।

नवनिर्मित भवनमा प्रतिष्ठानको कार्यालय तथा शैक्षिक कार्यक्रमका लागि प्रयोग भइरहेको छ । प्रतिष्ठानको शैक्षिक भवन निर्माण पूरा भएर विकल्प प्राप्त भइसकेपछि यि भवनमा हेटौंडा अस्पतालका उपचार सेवाहरु विस्तारलाई प्राथमिकता दिने जनाइएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादर बानियाँसहित भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, स्वास्थ्यमन्त्री किरण थापा, स्वास्थ्य मन्त्रालयका सचिव सुमित्रा गौतम, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेललगायत प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।