हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकामा प्रहरीमाथि नै आक्रमण भएको छ। बुधबार राती ८ बजेर ५० मिनेटको समयमा मनहरी-१, मकरीमा लागूऔषध सेवन गरी झै-झगडा भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि बियरको बोतल, खुकुरी र बञ्चरो प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

आक्रमणबाट प्रहरी सहायक निरीक्षक तामाङको दुबै हातमा चोट लागेको छ। प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाउँदा एकजना घाइते भएको प्रहरीले जानकारी दिएको छ। प्रहरी सहायक निरीक्षक तामाङको पेस्तोलबाट एक राउण्ड गोली प्रहार हुँदा हेटौँडा-१२, हात्तीगौंडाका १९ वर्षीय सनिस तितुङको पेटमा गोली लागेको छ।

घाइते प्रहरी सहायक निरीक्षक तामाङ र सनिसको हेटौँडा-११ स्थित सिएमसी चुरेहिल हस्पिटलमा उपचार भइरहेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा हेटौँडा-१२, रमनटारका २४ वर्षीय सन्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका २ जना र गोली लागि घाइते व्यक्ति बिगतमा विभिन्न अपराधमा लागुऔषध , ज्यान मार्ने उद्योग र चोरीमा संलग्न देखिएको प्रहरीले स्पष्ट पारेको छ।