Home मुख्य समाचार संग्रहालयको पूर्णता

संग्रहालयको पूर्णता

नेपाल जाति, भाषा, धर्म र संस्कृतिमा विविधता भएको देश हो । नेपालमा १४२ जातजाति, १२४ भाषा र १० भन्दा बढी धर्म मान्ने मानिसहरू बसोबास गर्छन् । जाति, भाषा र धर्ममा भएको विविधताले हाम्रो संस्कृति, रीतिरिवाज, परम्परा पनि विभिन्न प्रकारका छन् । मुलुकका हरेक जातिको आ–आफ्नै संस्कृति, रहनसहन र परम्परालाई संरक्षण गर्नु आवश्यक छ । जातीय परम्परा र पहिचानका सामग्रीहरुको उचित संरक्षण गर्न जातीय संग्रहालयहरु महत्वपूर्ण हुनसक्छ । विभिन्न जातिका अगुवाहरु यस्ता संग्रहालय निर्माणका लागि जागरुक पनि भइरहेका छन् । मकवानपुर, चितवन, धादिङ र गोरखा जिल्लामा बसोबास गर्ने चेपाङ जातिको पहिचान र विभिन्न सामग्री संरक्षण एवम् जानकारी प्रदान गर्न मकवानपुरको राक्सिराङमा चेपाङ संग्रहालय निर्माण गरिएको छ । तामाङ जातिको बाहुल्य रहेको मकवानपुरमा तामाङ संग्रहालय निर्माणका लागि केही वर्षदेखि पहल गरिएको भए पनि सार्थकता पाउन सकेको छैन ।

३ वर्ष अघिबाट हेटौँडामा निर्माण सुरु भएको तामाङ संग्रहालयको भवनसमेत निर्माण पूरा हुन सकेको छैन । हेटौँडा–१० स्थित टिसिएनचौरमा निर्माण भइरहेको तामाङ संग्रहालयको भवन बजेट अभावका कारण अलपत्र परेको बताइएको छ । आर्थिक वर्ष २०८०/०८१ मा निर्माण सुरु गरिएको भवन तीन वर्ष पुग्दै गर्दा आधारभूत संरचनासमेत बनेको छैन । तामाङ जातिको संस्कार तथा संस्कृतिको संरक्षण तथा सूचना प्रदान गर्ने उद्देश्यले साढे दुई तले भवन निर्माणाधीन रहेको छ । संग्रहालयमा तामाङ समुदायको जीवनशैली झल्काउने सामग्रीहरु, तामाङ समुदायले प्रयोग गर्ने सामग्रीहरु, विवाह संस्कार, मृत्यु संस्कारलगायतका खानेकुरा, भेषभुषा तथा पोसाक, खेतीबाली, बाजागाजा, लोक संस्कृति, तामाङ समुदायका रहनसहन तथा जीवनशैली र लोप हुँदै गएका विषयहरुलाई संरक्षण गर्ने उद्देश्य रहेको छ । संग्रहालयमा तामाङ समुदायको संस्कृति प्रदर्शनस्थल, पुस्तकालय, सभाकक्षलगायतका संरचनाहरु समेत निर्माण गरिनेछ ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले शिलान्यास गर्नुभएको संग्रहालयको भवन निर्माणका लागि हेटौँडा उपमहानगरपािलकाले पहिलो वर्ष ६१ लाख रुपैयाँ उपलब्ध गराएको थियो । संग्रहालयको भवन निर्माण गर्न नेपाल तामाङ घेदुङबाट १ लाख, ह्याङ्ला तामाङ समाजको तर्फबाट १ लाख ११ हजार र अन्य व्यक्ति तथा संस्थाहरुबाट ६ लाख रुपैयाँ संकलन गरिएको थियो । हेटौँडा उपमहानगरपालिकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा पनि ४५ लाख रुपैयाँ बजेट उपलब्ध गराइएकोमा चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । संग्रहालय निर्माणका लागि भीमफेदी गाउँपालिका र बागमती गाउँपालिकाले पनि ५/५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तीन करोड रुपैयाँ लागत अनुमान गरिएको संग्रहालय निर्माणका लागि एक करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।

तामाङ जातिको इतिहासलाई जगेर्ना गर्दै उनीहरुको जातीय तथा सांस्कृतिक पहिचानबारे अन्य जाति तथा तामाङ जातिकै नयाँ पिँढीलाई बुझाउन संग्रहालय निकै महत्वपूर्ण हुनेछ । विविध सामग्रीको संग्रहसँगै तिनको संरक्षण, शोध, प्रचार तथा प्रदर्शन गरिने संग्रहालयबाट धेरै मानिसले ज्ञान तथा मनोरञ्जन प्राप्त गर्न सक्दछन् । समयमै तामाङ संग्रहालय निर्माण सम्पन्न गरी तामाङ जातिको रहनसहन, जीवनशैली, भेषभुषा झल्कने धेरै भन्दा धेरै सामग्री संग्रह गरेर सञ्चालनमा ल्याउन सम्बद्ध पक्षले ध्यान दिनु आवश्यक छ । संग्रहालयलाई पूर्णता दिएर उचित व्यवस्थापन र सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिकासँगै जिल्लाका अन्य पालिकाहरुले सहयोग गर्नु उचित हुनेछ ।

Exit mobile version