हेटौँडा : प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत प्रत्यक्षतर्फ मकवानपुरको दुबै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि मकवानपुर जिल्लामा पहिलो पार्टी बनेको छ । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार समानुपातिकतर्फको पनि मतगणना सम्पन्न गरेको हो ।
रास्वपाले मकवानपुर जिल्लाबाट समानुपातिकतर्फ ७३ हजार ७२२ मत पाएको छ । यस्तै दोस्रो दल नेकपा एमालेले २७ हजार ७०० मत पाएको छ । नेपाली काँग्रेसले २३ हजार ६३८ मत पाएर तेस्रो भएको छ । मकवानपुर क्षेत्र नम्बर १ मा रास्वपाले ३९ हजार ८३४ मत ल्याएर पहिलो पार्टी बनेको छ भने नेकपा (एमाले) ले ११ हजार २२७ मत ल्याएर दोस्रो स्थान हासिल गरेको छ । नेपाली काँग्रेसले १० हजार ७७६ मत ल्याएर तेस्रो, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ८ हजार ४६७ मतसहित चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ४ हजार ७३ मतसहित पाँचौ स्थान हासिल गरेको छ । मकवानपुर क्षेत्र नम्बर १ मा १ लाख ६१ हजार ५५१ मतदाता थिए । फागुन २१ गते भएको निर्वाचनमा ९६ हजार ४५८ मत खसेको थियो । जसमध्ये ९३ हजार ७१ मत सदर हुँदा ३ हजार ३८७ मत बदर भएको थियो ।
यस्तै, मकवानपुर क्षेत्र नम्बर २ मा पनि ३३ हजार ८५८ मतसहित रास्वपा पहिलो पार्टी बनेको छ । नेकपा (एमाले) १६ हजार ४७३ मतसहित दोस्रो र नेपाली काँग्रेस १२ हजार ८६२ मतसहित तेस्रो स्थान हासिल गरेको छ । क्षेत्र नम्बर २ मा रष्ट्रिय परिवर्तन पार्टीले ९ हजार ६७९ मत, नेकपाले ९ हजार ४३१ मत, राप्रपाले १ हजार ५०४ मत र श्रम संस्कृति पार्टीले १ हजार ४६७ मत प्राप्त गरेको छ । क्षेत्र नम्बर २ मा कुल १ लाख ५७ हजार ९० मतदाता थिए । निर्वाचनमा ९१ हजार ८०८ मत खसेको थियो । जसमध्ये ८७ हजार ७३८ मत सदर हुँदा ४ हजार ७० मत बदर भएको थियो ।
