भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा मैले निर्वाचन पर्यवेक्षण समिति नेपाल मार्फत निर्वाचन पर्यवेक्षकको रूपमा काम गर्ने अवसर पाएँ । यो मेरा लागि चौथो अनुभव थियो । यसअघि पनि विभिन्न संस्थामार्फत तीन पटक निर्वाचन पर्यवेक्षण गर्ने अवसर प्राप्त गरेको थिएँ ।

यसपटकको निर्वाचन भने केही फरक परिवेशमा सम्पन्न भयो । पछिल्लो समय नेपालमा युवापुस्ताको आवाज र सक्रियता उल्लेखनीय रूपमा बढेको देखिन्छ । विशेषगरी सामाजिक सञ्जाल र सार्वजनिक स्थलहरूमा देखिएको युवाहरूको चासो, बहस र प्रश्नले राजनीतिक व्यवस्था र शासन प्रणालीप्रति नयाँ पुस्ताको अपेक्षा स्पष्ट रूपमा देखाएको छ । धेरैले यसलाई जेन जी पुस्ताको बढ्दो नागरिक सक्रियतासँग पनि जोडेर हेर्ने गरेका छन् । यस्तो पृष्ठभूमिमा सम्पन्न भएको निर्वाचनले लोकतान्त्रिक प्रक्रियाप्रति नागरिकको भरोसा र सहभागितालाई झल्काउने अवसर पनि दिएको जस्तो लाग्यो ।

सामान्यतया निर्वाचन पर्यवेक्षणलाई निर्वाचनपूर्व, निर्वाचनका दिन र निर्वाचनपछि गरी तीन चरणमा हेर्ने गरिन्छ । तर व्यवहारमा हामीजस्ता धेरै पर्यवेक्षकलाई विशेषगरी निर्वाचनका दिनको अवस्थालाई बढी ध्यान दिएर हेर्न भनिएको हुन्छ । त्यसैले पनि प्रायः पर्यवेक्षणको ध्यान मतदानका दिनतिर नै बढी केन्द्रित हुने गरेको अनुभव हुन्छ ।

निर्वाचन हुनुभन्दा एक दिनअघि, अर्थात् २० फागुन २०८२ मा, मैले हेटौँडा उपमहानगरपालिका भित्रका छ वटा फरक–फरक मतदान केन्द्रहरूको भ्रमण गरेँ । त्यहाँ पुगेर निर्वाचन अधिकृत, सुरक्षाकर्मी तथा अन्य जिम्मेवार व्यक्तिहरूसँग छोटो छलफल गर्ने अवसर पनि मिल्यो । समग्र रूपमा हेर्दा सबै मतदान केन्द्रमा आवश्यक व्यवस्थापन राम्रोसँग गरिएको देखिन्थ्यो र सबैजना भोलिपल्टको मतदानका लागि तयारी अवस्थामा थिए ।

ती केन्द्रहरूमध्ये हेटौँडा उपमहानगरपालिका–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र विशेष रूपमा उल्लेखनीय लाग्यो । त्यो केन्द्र महिलामैत्री ढंगले सञ्चालन गरिएको थियो । त्यहाँ खटिएका ३६ जना कर्मचारी सबै महिला हुनु आफैंमा सकारात्मक र प्रेरणादायी पक्ष थियो । सुरक्षाको जिम्मेवारी भने नेपाल प्रहरी र निर्वाचन प्रहरीका पुरुष र महिला दुवैको मिश्रित टोलीले सम्हालेको देखियो । यसले समावेशी अभ्यासलाई पनि झल्काएको अनुभव भयो ।

२१ फागुन २०८२ निर्वाचनको दिन बिहान मैले सबैभन्दा पहिले आफ्नो मतदान केन्द्र हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयमै पुगेर मतदान गरेर नागरिक अधिकार प्रयोग गरेँ । त्यसपछि पर्यवेक्षणको काम सुरु गरेँ । त्यस दिनको अवलोकन मैले सिद्धार्थ माध्यमिक विद्यालयबाटै सुरु गरेको थिएँ । दिनभरि विभिन्न मतदान केन्द्रहरूमा पुगेर अवस्था बुझ्ने क्रम जारी रह्यो । कतिपय केन्द्रमा म एक्लै पुगेँ भने कतिपय ठाउँमा शिव चौलागाईं र रामप्रसाद दहालसँगै पनि अवलोकन गर्ने मौका मिल्यो । उहाँहरू दुवैजना पनि निर्वाचन पर्यवेक्षण समिति नेपालका पर्यवेक्षक हुनुहुन्थ्यो । हामीले त्यस दिन हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर २, ५, ७ र ८ का विभिन्न मतदान केन्द्रहरूको भ्रमण ग¥यौं । साथै मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको एक मतदान केन्द्रमा पनि पुगेर अवस्था नियाल्ने अवसर मिल्यो ।

समग्र रूपमा हेर्दा मतदान केन्द्रहरूको व्यवस्थापन राम्रो देखिन्थ्यो । मतदाताहरुमा उत्साह देखिन्थ्यो । उनीहरु शान्त र अनुशासित ढंगले आफ्नो पालो कुर्दै लाइनमा उभिएका थिए । मतदान प्रक्रियाप्रति उनीहरूमा आशा र विश्वास पनि देखिन्थ्यो । निर्वाचनअघि कतिपय ठाउँमा मतदान शिक्षा पर्याप्त नभएको भन्ने कुरा सुन्न पाइन्थ्यो । तर हामीले भ्रमण गरेका अधिकांश केन्द्रहरूमा भने मतदाताहरू प्रक्रिया बुझेर नै मतदान गर्न आएको जस्तो अनुभव भयो । मतगणना भने अर्को दिनदेखि सुरु भयो र अन्तिम परिणाम आउन केही समय लाग्यो । त्यस क्रममा केही मत बदर भएको समाचार पनि सुनियो । तर समग्रमा हेर्दा मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको अनुभूति भयो ।

निर्वाचन हुने कि नहुने, समयमै सम्पन्न हुन्छ कि हुँदैन भन्ने जिज्ञासा र शंका धेरैको मनमा थियो । तर अन्ततः निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । मतगणनाको अन्तिम चरणतिर पुग्दा परिणामहरू आउन थाले र अन्ततः हामीले आफ्ना निर्वाचित जनप्रतिनिधिहरू पनि पाएका छौँ ।

अब निर्वाचन सम्पन्न भइसकेको अवस्थामा हामी सबैले परिणामलाई स्वीकार गर्दै अगाडि बढ्नु आवश्यक छ । लोकतन्त्रमा जित र हार स्वाभाविक प्रक्रिया हो । को विजयी भए भन्नेभन्दा पनि अब उनीहरूले जनताको अपेक्षाअनुसार काम गर्न सकून् भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसका लागि नागरिकका रूपमा हामीले पनि सकारात्मक सोच राख्दै निर्वाचित प्रतिनिधिहरूलाई आवश्यक सहयोग र समर्थन दिनुपर्छ । अन्ततः हामी सबैको चाहना एउटै हो, समृद्धि, सुशासन र सामाजिक न्याय तथा देशको उज्ज्वल भविष्य । आशा गरौँ, यो निर्वाचनले त्यही दिशामा अगाडि बढ्ने नयाँ अवसर सिर्जना गर्नेछ ।