हेटौँडा: पुरुष एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगिता काठमाडौं र ललितपुरले विजयी सुरुवात गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सोमबार भएको खेलमा काठमाडौंले नुवाकोटलाई ५९ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको काठमाडौंले ४८ ओभरमा ९ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो । काठमाडौंका लागि कप्तान इशान पाण्डेले सर्वाधिक ९५ रनको योगदान गरे ।
काठमाडौंका लागि उत्तम थापा मगरले ३६ रनको योगदान गरे । नुवाकोटका कप्तान इशान पाण्डेले ५ विकेट लिँदा दयानन्द मण्डल र सोनु देवकोटाले समान २/२ विकेट लिए । २ सय ४६ रनको लक्ष्यसहित जवाफी व्याटिङ थालेको नुवाकोटले निर्धारित ४८ ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रन मात्रै बनाउन सक्यो । नुवाकोटका लागि विनोद सुवेदीले सर्वाधिक ५६ रन जोडे । काठमाडौंका इशान पालीले ४ विकेट, अफ्जल मन्सूरले ३ विकेट र विधान खतिवडाले २ विकेट लिए । म्यान अफ द म्याच काठमाडौंका कप्तान इशान पाण्डे घोषित भए ।
यस्तै माथिल्लो मूलपानी क्रिकेट रङ्गशालामा भएको अर्को खेलमा ललितपुरले भक्तपुरलाई २३ रनले हराएको छ । भक्तपुरले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको ललितपुरले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६६ रन बनाएको थियो । ललितपुरका लागि व्याटिङतर्फ रोनिम तिवारीले सर्वाधिक ८९ रन बनाए । ललितपुरका लागि सचिन लेखकले ३० रनको योगदान गरे । भक्तपुरका पंकज पाण्डेले ३ विकेट, सूर्य तामाङ र तिलक राजभण्डारीले समान २/२ विकेट लिए ।
२ सय ७७ रनको लक्ष्य पछ्याएको भक्तपुरले ४९ दशमलव २ ओभरमा १० विकेट गुमाएर २ सय ४३ मात्रै बनाउन सक्यो । भक्तपुरका लागि क्याप्टेन क्रिश कार्कीले सर्वाधिक ९३ रन बनाए । भक्तपुरका रिन्जिन लामाले ४१ रन जोडे । ललितपुरका विशाल साह कानुले ३ विकेट, सक्रियप्रताप कार्की र सुवास खत्रीले समान २/२ विकेट लिए । ललितपुरका रोनिम तिवारी म्यान अफ द म्याच घोषित भए ।
प्रदेशस्तरीय छनोट प्रतियोगितामा ७ वटा टोलीको सहभागिता रहेको छ । समूह चरणको खेल सकिएपछि अंक तालिकाका शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । सोमबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ३ गते हुनेछ । प्रतियोगिताका लिग चरणका खेलहरु त्रिवि क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदान हुँदैछ भने फाइनल खेल तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।











