हेटौँडा : आज ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । महिलाहरुले राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिकलगायत महिलाहरुमाथि भएको शोषण, विभेद र उत्पीडनका विरुद्ध आवाज उठाउने र महिला मुक्ति आन्दोलनका निम्ति संकल्प गर्ने दिनको रुपमा यो दिवस संसारभरका शोषित उत्पीडित महिलाहरुले मनाउने गर्दछन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदैछ ।

अन्तर्र्राष्ट्रिय श्रमिक महिला दिवस सुरुमा सन् १९११ को मार्च १९ मा मनाइएको थियो । पहिलो अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भएको कार्यक्रममा १० लाख भन्दा बढी महिला तथा पुरुषले ¥याली गरेका थिए । अन्तर्राष्ट्रिय महिला दिवसको अवधारणा अमेरिकाको सोसिअलिस्ट पार्टीले सन् १९०९ को फेब्रुअरी २८ मा घोषणा गरेको राष्ट्रिय महिला दिवसबाट प्रभावित भएको हो । यस वर्ष प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण मकवानपुरमा श्रमिक महिला दिवसको सन्दर्भमा कार्यक्रमहरु आयोजना गरिएको छैन । चुनावको मत परिणामलाई लक्षित गर्दै कार्यक्रम नगरिएको हेटौँडा उपमहानगर पालिकाको महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार विगतको अवस्थाभन्दा अहिले महिलाको अवस्थामा सुधार भएको र अहिलेको समयमा महिलाहरूले शिक्षा, स्वास्थ्य, रोजगार, पारिवारिक स्वतन्त्रता र आरक्षण जस्ता कुराहरुमा राम्रो अवसर पाउँदै आएका छन् । समय जतिनै परिर्वतन भए पनि अहिलेको समयमा निम्न वर्ग र उच्च वर्गको महिला पुरुष दुवै हिंसामा पर्ने गरेको पाइएको छ । तर पनि पुरुषको तुलनामा महिलाहरू बढी हिंसामा पर्ने गरेको उहाँको भनाई छ ।

शिक्षित भएपनि परम्परागत दृष्टिकोणले जरा गाडेर बसेका कारण सामाजिक कुरीति, पहिले र अहिलेको समयमा बालविवाह उस्ता उस्तै रहेको लामिछानेको भनाइ छ । पहिला अभिभावकहरूले जबरजस्ती विवाह गराइदिन्थे भने अहिले बालबालिकाहरूले आफै किशोरावस्थामा प्रेम विवाह गर्ने गरेको पाइएको उहाँको भनाइ छ । नगरपालिकाले जानकारी पाएसम्म बालबिबाह रोक्ने गरेको उहाँले बताउनुभयो । बालविवाह न्यूनीकरणका लागि हेटौँडा उपमहानगरपालिकाले विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । विभिन्न स्थानीय तह, जिल्ला र मुलुकबाट अलपत्र अवस्थामा फेला परेकाहरुलाई राहत उपलब्ध गराउने उद्देश्यले सेफ हाउ सञ्चालन गरिएको लामिछानेले जानकारी दिनुभयो । सेफ हाउसमा बढीजसो घरेलु हिंसा पीडित महिलाहरू आउने गरेका छन् ।

पहिलेको तुलनामा अहिले हिंसाका घटना कम हुने गरेको ११ नम्बर वडा अध्यक्ष जुना दाहालले बताउनुभयो । महिलाहरुले पाएका अवसरहरूमा समाजले स्वीकार्न नसक्ने, प्रशासनिक क्षेत्रमा हेर्ने दृष्टिकोण फरक, महिलालाई कमजोर बनाउन खोज्ने जस्ता समस्या रहेको उहाँको भनाई छ । अहिलेको समयमा हेर्दा शिक्षित परिवारका महिला नै बढी हिंसामा पर्ने गरेको उहाँको भनाइ छ । महिलाहरुलाई प्रशासनिक क्षेत्रमा सामाजले पछि पारेको दाहाल बताउनुहुन्छ । प्रशासनिक क्षेत्रमा रहेर काम गरिरहँदा त्यसले के गर्न सक्छे र भन्ने भाष्य बढि प्रयोग हुँदै आए पनि पहिलाको तुलनामा महिलाहरूले राजनीतिक, प्रशासनिक लगायतका धेरै ठाउँमा बराबर हक लिएर काम गरिरहेको उहाँको भनाई छ । वडा नम्बर ११ ले हरेक वर्ष महिलाहरूको नेतृत्व विकासका लागि विभिन्न किसिमको कार्यक्रमहरू गर्दै आएको छ । यस वर्ष पनि कार्यालयले कार्यक्रमहरू गर्ने उहाँको भनाइ छ ।

अहिलेको समयमा संख्यात्मक हिसाबले महिलाको उपस्थिति उल्लेखनीय रहे पनि महिलाको साक्षरता कम रहेको जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो । पछिल्लो समयमा राष्ट्रपति, राष्ट्र प्रमुखको रूपमा पनि महिला रहेपनि सामाजिक सञ्जालको प्रविधिमा महिलालाई तल पार्दै गएको उहाँको भनाइ छ । सामाजिक सञ्जालको प्रविधिमा महिला पुरुष दुबैको चेत निम्न स्तरमा रहेको छ । राजनीतिक क्षेत्रमा महिलाले फड्को मारेपनि के गर्न सक्छ र भन्ने प्रवृत्ति र सोच अहिले पनि समाजमा रहिआएको उहाँले बताउनुभएको छ । अहिलेको समयमा नेतृत्वमा महिलाको भूमिका विभिन्न क्षेत्रमा रहेको पाइएको छ । पहिलेको तुलनामा केही कम भएपनि अहिले पनि महिलालाई के गर्न सक्छिन् र भनेर तल पार्ने सोच रहेको श्रेष्ठको भनाइ छ ।

सहकारीमा अध्यक्षको भूमिकामा रहेर हेर्दा महिलाहरुले पहिलेको समयमा बचत गर्न अभाव रहेको थियो भने अहिले महिलाले आफ्नै नेतृत्वमा चाहेको बचत गर्ने र व्यवसाय गर्ने गरेको उहाँको भनाई छ । जिल्ला बचतले दिवसकै अवसर पारेर कविता प्रतियोगिता तथा तनाव व्यवस्थापन कार्यशालाको आयोजना गरेको छ ।

यस्तै, मकवानपुर उद्योग वाणिज्य संघकी महासचिव प्रतिमा श्रेष्ठका अनुसार राष्ट्र निर्माणमा आजका महिला उद्योग, व्यापार क्षेत्रमा फड्को मारेको बताउनुभएको छ । महिलाहरू उद्यमशीलता विकास गर्न, व्यावसायिक अवसर सिर्जना गर्न, आर्थिक नेतृत्व विकासमा अगाडि बढिरहेको उहाँको भनाइ छ । महिलालाई अवसर सँगसँगै विविध क्षेत्रमा चुनौती पनि रहेको उहाँले बताउनुभयो । समाजबाट रहने असमानता, आर्थिक निर्भरता, अवसर अभाव, विजय प्रक्रियामा सीमित सहभागी र नेतृत्वमा महिलालाई पर सार्ने प्रवृत्ति रहेको उहाँको भनाइ छ ।

अहिले महिलाहरू आर्थिक रूपमा सशक्त हुँदै गएको उल्लेख गर्नुहुँदै उद्योग वाणिज्य संघले उद्यमी महिलाहरूका लागि विभिन्न किसिमको कार्यक्रमहरूको आयोजना गर्दै आएको दावी गर्नुभयो । संघले महिला उद्यमी विकास समिति निर्माण गरी महिलाहरूलाई बजेट, नेतृत्व प्रदान गर्दै आएको छ । आफूले नै महासचिवमा रहिरहँदा र आइरहँदा विविध किसिमको चुनौतीहरू पनि सामना गर्नुपरेको उहाँले बताउनुहुन्छ ।