हेटौँडा : प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत मकवानपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशान्त उप्रेती विजयी भएका छन् । सोमबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार ३० हजार ५० मतसहित उप्रेती निर्वाचित भएका हुन् । उप्रेतीले यसअघि सोही क्षेत्रबाट निर्वाचित नेकपा एमालेका महेशकुमार बर्तौलालाई पछि पार्दै निर्वाचित भएका हुन् ।
नेकपा एमालेका बर्तौलाले १८ हजार ८४६ मत प्राप्त गरे । यस्तै नेपाली काँग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ५६ मतसहित तेस्रो हुँदा नेकपाका उम्मेदवार लवशेर विष्ट १२ हजार ४ सय ९२ मतसहित चौथो स्थानमा रहे । यस्तै उज्यालो नेपाल पार्टीका उम्मेद्वार प्रविन कुमार स्याङ्तानले ६ हजार २३७ मत प्राप्त गर्दै पाँचौं स्थानमा रहे ।
मकवानपुर क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता थिए । फागुन २१ गते भएको निर्वाचनमा ९१ हजार ११६ मत खसेको थियो । ८५ हजार ६ सय १९ मत सदर हुँदा ५ हजार ४९७ मत बदर भएको थियो ।











