हेटौँडा : मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता बनाएका छन् । जारी मतगणनाको प्राप्त परिणाम अनुसार मकवानापुर–१ मा रास्वपाका उम्मेदवार प्रकाश गौतम र मकवानपुर–२ मा प्रशान्त उप्रेतीले प्रतिस्पर्धी दलका उम्मेदवारलाई पछि पार्दै अग्रता कायम गरेका छन्।
मकवानपुर–१ मा गौतमले सुरुवाती मतगणनादेखि नै निरन्तर अग्रता बनाउँदै आएका छन्। हालसम्म हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर–२,४,५,६,७,८,९,१० को मत गणना हुँदा रास्वपाका उम्मेदवार गौतमले १९ हजार २३६ मत प्राप्त गरेका छन् भने एमालेका रामेश्वर रानाले ३ हजार ९९९ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसका उम्मेदवार महाँलक्ष्मी उपाध्याय (डिना)ले ३ हजार ४९५ मत प्राप्त गरेकी छन् भने चौथो स्थानमा राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले २ हजार ३७६ मत प्राप्त गरेका छन् । नेकपाका उम्मेदवार विजय गौतमले १ हजार १६१ मत प्राप्त गरेका छन् ।
मकवानपुर–२ मा रास्वपाका उप्रेतीले मतगणनाको हालसम्म मनहरी गाउँपालिकाको सबै वडा र थाहा नगरपालिकाको ३,४,५,६,७,८,९,१०,११,१२ को मत गणना गर्दासम्म ११ हजार ९३३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार महेश कुमार बतौलाको ५ हजार ७८६ मत पाएका छन् । तेस्रो स्थानमा रहेका लवशेर विष्टले ५ हजार ६४३ मत र चौथो स्थानमा कांग्रेसका बुद्ध लामा ५ हजार २९ मत रहेको छ ।











