हेटौँडाः प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सम्पन्न भएको छ । मकवानपुर जिल्लाको दुबै निर्वाचन क्षेत्रका एक सय ६७ मतदानस्थलका ३७४ मतदानकेन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।

मतदान केन्द्रमा भोट हाल्न आएका मतदाताहरुले अब निर्वाचित हुने प्रतिनिधिसभाका सदस्यहरुले देशलाई भ्रष्टाचारमुक्त बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न भएको मतदानमा सहभागी मतदाताहरुले भ्रष्टाचारमुक्त नेपाल बनाउन अबका निर्वाचित जनप्रतिनिधिहरु सक्रिय हुनुपर्नेमा जोड दिएका हुन् ।

पहिलोपटक मतदान गर्न नवाज्योति माविस्थित मतदान केन्द्र पुगेका हेटौँडा–७ निवासी उज्ज्वल भट्टले युवाहरुले परिवर्तन चाहेको बताउनुभएको छ । उहाँले अब निर्वाचित जनप्रतिनिधिहरुले भ्रष्टाचारमुक्त देश बनाउन पारदर्शिताई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उम्मेदवार हुँदा उल्लेख गरेका चुनावी प्रतिबद्धता पूरा गर्दै युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने उज्ज्वलको भनाइ छ । निकट भविष्यमा देशमै नयाँ रोजगारी सिर्जना गर्दै सुलभरुपमा रोजगार, शिक्षा र स्वास्थ्य सुविधा पाउन यी क्षेत्रमा सुधार हुने उहाँको अपेक्षा छ ।

उज्जवलजस्तै पहिलो पटक मतदान गर्ने हेटौँडा–८ निवासी अजय कुईंकेलको विचारमा निर्वाचित जनप्रतिनिधिले निर्वाचनमा गरेका घोषणा कार्यान्वयन गर्दै पारदर्शिता बढाउनुपर्ने बताउनुभयो । चन्द्रोदय माविस्थित मतदान केन्द्रमा पुगेका कुईंकेल जेनजी समूहका आइटीका विद्यार्थी हुुनुहुन्छ । उहाँको अनुभवमा अन्य देशको तुलनामा नेपालको आइटी शिक्षा कमजोर छ । यसलाई सुधार ल्याउन निर्वाचित जनप्रतिनिधिले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

अहिलेको नेपालमा सञ्चालित विश्वविद्यालयका आइटीको कोर्सहरु विदेशका विद्यालयमा पढाइ हुने स्तरको रहेकाले उच्चशिक्षा हासिलपछि पर्याप्त काम पाउन नसकिने र विश्वस्तरमा प्रतिस्पर्धा गर्न नसकिने कुईंकेलको भनाइ छ । आफूहरुले विदेशी शैक्षिक संस्थाबाट छुट्टै थप कोर्सहरु लिन बाध्य भएको भन्दै उहाँले अबको निर्वाचित सरकारले यो विषयलाई ध्यान दिने अपेक्षा गर्नुभएको छ ।

यस्तै, हेटौँंडा–२ का ६६ वर्षीय सानुकाजी राउत पनि अबको निर्वाचित जनप्रतिनिधिहरुले देशबाट भ्रष्टाचारको अन्त्य गर्नुपर्नेमा जोड दिनुहुन्छ । उहाँले यसअघिजस्तो उद्योग बन्द हुने सिलसिला रोक्दै नयाँ उद्योगहरु खोल्न राज्यले पहलकदमी चाल्नुपर्नेमा जोड दिनुभयो । जननिर्वाचित सरकारले आगामी दिनमा आर्थिक विकासका लागि विभिन्न कार्यक्रमहरु गर्ने उहाँको अपेक्षा छ ।

हेटौंडा–२ को सिद्धार्थ माविस्थित मतदान केन्द्रमा मतदान गर्न आउनुभएका स्थानीय यदुकुमार ओलीले पनि भ्रष्टाचारविहीन नेपाल बनाउनु नै अबको नवनिर्वाचित जनप्रतिनिधिको लक्ष्य हुनुपर्नेमा जोड दिनुभयो । ओलीजस्तै स्थानीय राजेन्द्र ढकालले पनि अबको निर्वाचित सरकार आएपछि भ्रष्टाचारविरुद्ध विशेष अभियान नै सञ्चालन गरी भ्रष्टाचार निर्मूल हुन्छ कि भन्ने अपेक्षा रहेको बताउनुभयो ।