प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ । विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउने कार्य चुनौतीपूर्ण भए पनि सबैको साथ र सहयोगबाट मतदान सम्पन्न भएको छ । देशभरबाट प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको प्रारम्भीक अनुमान निर्वाचन आयोगको छ । केही जिल्लाका केही मतदान केन्द्रमा छिटफुट अबरोधका घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदान समाप्तिसँगै मतपेटिका मतगणनास्थलसम्म ल्याउने काम भइरहेको छ । मतपेटिका संकलन भइसकेपछि मतगणना कार्य सुरु हुनेछ । ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, गोरखा, मनाङ, रुकुमपूर्व, रुकुमपश्चिम, हुम्ला, बझाङ, बाजुरालगायत दुर्गम १५ जिल्लाका विकट क्षेत्रबाट हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिने आयोगले जनाएको छ ।
मकवानपुर जिल्लामा पनि मतदान शान्तिपूर्ण सम्पन्न भएको छ । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा करिब ५९ प्रतिशत मत खसेको प्रारम्भीक अनुमान छ । मकवानपुर १ नम्बर निर्वाचन क्षेत्रमा ६२ वटा मतदानस्थलमा १७८ वटा मतदान केन्द्र रहेका छन् । जिल्लामा ३ लाख १५ हजार ३३४ मतदाता रहेकामा ९६ हजार ६३४ पुरुष, ८९ हजार ९१२ महिला र अन्य ५ गरी एक लाख ८६ हजार ५५१ मत खसेको छ । एक लाख ५८ हजार ४३४ मतदाता रहेको मकवानपुर क्षेत्र नम्बर १ मा ४७ हजार ६७० पुरुष, ४७ हजार ६३६ महिला र अन्य ४ जना गरी ९५ हजार ३१० मत खसेको छ । यसैगरी मकवानपुरको क्षेत्र नम्बर २ मा ९१ हजार २४१ मत खसेको छ । उक्त क्षेत्रमा ४८ हजार ९६४ पुरुष, ४२ हजार २७६ महिला र अन्य एक जनाले मतदान गरेका छन् । क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८९९ मतदाता रहेका थिए ।
तोकिएको मितिमा निर्वाचन हुन सक्दैन, यो सरकारले चुनाव गराउँदैन, चुनावको मिति सर्छजस्ता अनेकौँ अड्कल र आशंकाबिच सरकारले तोकिएकै मितिमा मतदान गराएको छ । राष्ट्रपति, प्रधानमन्त्री, गृह तथा अन्य मन्त्रीहरुको निर्वाचनप्रतिको प्रतिबद्धताले निर्वाचन सम्भव भएको छ । निर्वाचन सम्पन्न गराउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निर्वाचन प्रहरी, राष्ट्रिय अनुसन्धानलगायत सुरक्षा निकायको भूमिका पनि उत्तिकै महत्वपूर्ण देखिएको छ । निर्वाचन आयोगले घोषित समयसीमा भित्र सबै काम सम्पन्न गरेर निर्वाचनलाई सार्थक पारेको छ । निर्वाचन सफल बनाउन सबै राजनीतिक दलहरुको सकारात्मक र सहयोगी भूमिकाले पनि निकै सहज बनाएको छ । निर्वाचनसँग सम्बद्ध सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षण संस्था, राष्ट्रसेवक कर्मचारीको साथ र सहयोगले निर्वाचनलाई सहज बनाएको छ । शान्तिपूर्ण निर्वाचन गराउन उचित वातावरण बनाउने र उत्साहजनकरुपमा मतदानमा भाग लिने आम नागरिक निर्वाचन सफल बनाउने मुख्य कडी भएका छन् ।
दुर्गा प्रसाइको समूहदेखि करिब एक दर्जन राजनीतिक दलहरुको बहिस्कार तथा बिरोधका बाबजुद शान्तिपूर्ण मतदान सम्पन्न हुनुलाई सुखद् मान्नुपर्छ । दोलखाको एउटा मतदान स्थलमा विवाद हुँदा ४ राउण्ड हवाइ फायर र उदयपुरको एउटा मतदान केन्द्रमा सुरक्षकर्मीले बोकेको बन्दुक आफैँ पड्किएर मतपेटिका प्वाल पर्नेबाहेक अन्यत्र हतियार चलाउनुपर्ने अवस्था आएन । सप्तरी र दोलखामा सामान्य विवाद भएर केही समय मतदान रोकिनेबाहेक देशभर बिना अवरोध मतदान सम्पन्न हुनुले निर्वाचन शान्तिपूर्ण भएको पुष्टि गरेको छ । निर्वाचनमा हारजित स्वभाविक हुन्छ । विषम परिस्थितिमा पनि कतै कुनै अप्रिय घटना हुन नदिई शान्तिपूर्ण मतदान सम्पन्न भएसँगै आउने निर्वाचन परिणामलाई सबैले सहजरुपमा स्वीकार गरेर देशलाई जिताउने अभिभारा सबै राजनीतिक दल तथा उम्मेदवारको हुनेछ ।











