मतगणनास्थलमा मतपेटिका ल्याइँदै ।

हेटौँडा : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत २ वटा क्षेत्र रहेको मकवानपुरमा ५९ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक रहेको छ । ३ लाख १५ हजार ३३४ कुल मतदाता संख्या मध्ये १ लाख ८६ हजार ५५१ (५९ प्रतिशत) ले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ । जसमा पुरुष ९६ हजार ६३४, महिला ८९ हजार ९१२ र तेस्रो लिङ्गी ५ जनाले मतदान गरेका छन् ।

मकवानपुर क्षेत्र नम्बर १ मा ९५ हजार ३१० मतदाताले मतदान गरेका छन् । जसमा पुरुष ४७ हजार ६७०, महिला ४७ हजार ६३६ र तेस्रो लिङ्गी ४ जना रहेका छन् । मकवानपुर २ मा ९१ हजार २४१ जनाले मतदान गरेका छन् । जसमा पुरुष ४८ हजार ९६४, महिला ४२ हजार २७६ र तेस्रो लिङ्गी १ जनाले मतदान गरेका छन् ।

मकवानपुरका दुई अस्थायी केन्द्रसहित ३७६ मतदान केन्द्रमा निर्वाचन गराउन ३ हजार ३६६ कर्मचारी खटिएका थिए । मकवानपुरमा उक्त निर्वाचनका लागि १६७ मतदान स्थल रहेका थिए । हाल मतपेटिका संकलन कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् । राती अबेरसम्म सबै केन्द्रबाट मतपेटिका संकलन गरिसक्ने तयारी गरिएको उनले बताइन् । मकवानपुरका ८ मतदान केन्द्रमा सिधै सडक पहुँच नपुगेका कारण निर्वाचन सामग्री ढुवानी तथा मतदानपछि मतपेटिका संकलनका लागि छिमेकी जिल्लाको सडक प्रयोग गर्नुपर्नेभएकाले समय लाग्ने उनले बताइन् । बकैया गाउँपालिकाको ३ र राक्सिराङ गाउँपालिकाको ५ मतदान केन्द्रमा मकवानपुरबाट बाटो नहुँदा छिमेकी जिल्ला रौतहट, बारा र चितवनको सडक मार्ग प्रयोग गर्नुपर्ने भएको हो ।

मतपेटिका संकलन गरी शुक्रबार बिहान ७ बजेका लागि सर्वदलीय बैठक आव्हान गरिएको उनको भनाई छ । उक्त सर्वदलीय बैठक सम्पन्न भए लगतै मतगणना सुरु गरिनेछ । मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणनास्थल भुटानदेवी माविलाई तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार हेटौँडा–४ स्थित भुटनदेवी माविको दुईवटा ब्लकमा मतगणना गर्ने गरी तयारी गरिएको र सोही अनुसार मतगणना स्थलको सुरक्षा व्यवस्था मिलाइएको उनले बताइन् । मतगणना स्थलमा सिसिटिभी क्यामेरासहित तार–जाली लगाइएको छ ।