हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्न लामवद्ध मतदाता ।

हेटौँडा : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुरमा मतदान सुरु भएको छ । मकवानपुरको २ वटा क्षेत्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो । निर्वाचनका लागि मकवानपुर जिल्लाभर १०२ वटा वडामा १६७ वटा मतदान स्थल र ३७४ वटा मतदान केन्द्र तोकिएका छन् ।

जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन् भने मकवानपुरमा २ वटा अस्थायी मतदानस्थल राखिएको छ । भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा एक/एक वटा मतदानस्थल रहेको छ । भीमफेदी कारागारमा महिला र पुरुष गरेर ९ सय ९५ जना कैदीबन्दी छन् । तर मतदाता नामावलीमा १ सय ६२ जनाको मात्र नाम रहेको छ । अरू कैदीबन्दीहरुको मतदाता सूचीमा नाम समवेश छैनन् ।

अस्थायी मतदान केन्द्रबाहेक मकवानपुरमा १६७ वटा मतदानस्थल रहेका छन् । ती मध्ये सुरक्षाको दृष्टिकोणले १९ वटा मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताको आधारमा जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा रहेका मतदानस्थल अति संवेदनशीलको सूचीमा राखेको हो । जिल्लाभर रहेका १६७ मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा राखिएको छ । अति संवेदनशील सूचीमा परेका मतदानस्थलमा २६ मतदान केन्द्र रहेका छन् ।

मकवानपुर– १ नम्बर निर्वाचन क्षेत्रमा ६२ वटा मतदानस्थलमा १७८ वटा मतदान केन्द्र रहेका छन् । मतदाता १ लाख ५८ हजार ४३४ रहेको छ । यसैगरी मकवानपुर–२ नम्बर निर्वाचन क्षेत्रमा १०५ मतदानस्थलमा १९६ वटा मतदान केन्द्र रहेका छन् । मतदाता १ लाख ५६ हजार ८९९ रहेका छन् । २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता छन् ।