प्रहरीले बरामद गरेको अवैध सामान ।

हेटौँडा : मकवानपुर प्रहरीले थाहा नगरपालिकाबाट भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो १ बजेर ४० मिनेटको समयमा थाहा नगरपालिका–४ बाट बिक्रम रायमाझी र कुमार रायमाझीलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले सोमबार जानकारी दिएको छ ।

प्रहरीले कुमार रायमाझीको घरबाट भरुवा बन्दुक बरामद भएको जानकारी दिएको छ । बिक्रम र कुमारलाई कानुन बमोजिम पक्राउ गरी हातहतियार खरखजाना सम्बन्धी कसूरमा मकवानपुर जिल्ला अदालतबाट आइतबार अनुमति लिई हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले १ नाले भरुवा बन्दुक एक थान, सानो सानो (थोरै÷थोरै) पोका पारिएको बारुद, अस्थालिन लेखिएको प्लाष्टिकको डिब्बा भित्र स–सना फलामका टुक्राहरुको छर्राहरु, सलाईको बट्टाहरुबाट बाहिरी बारुदको भाग निकालिएको, सलाईको काटीहरु बरामद गरेको छ ।