हेटौँडा : प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर–२ बाट नेकपाका उम्मेदवार लबशेर विष्टले आफूलाई पार्टीले योग्य उम्मेद्वार ठानेर उम्मेदवार बनाएको बताउनुभएको छ । सोमबार बिहान हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा विष्टले आफू एक कार्यकाल थाहा नगरपालिकाको प्रमुख भएर काम गरेको र तत्कालिन समयको काम राम्रो भएकै कारण पार्टीले आफूलाई उम्मेद्वार बनाएको बताउनुभएको हो ।
निर्वाचनको प्रचारप्रसारको अन्तिम समयमा विष्टले ३० हजार मतसहित आफू विजयी हुने दावी समेत गर्नुभएको छ । ‘म ३० हजार मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेछु’, विष्टले भन्नुभयो । विष्टले आफ्ना प्रतिवद्धताको संक्षिप्त सूचि पनि प्रस्तुत गर्नुभएको छ । विष्टले गाँजालाई वैधानिक तवरबाट औषधीय प्रयोजनका लागि प्रयोगमा ल्याउन पहल गर्ने बताउनुभएको छ । विष्टले भूमिहिन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गर्न, गुणस्तरीय एवम् सर्वसुलभ शिक्षामा आम जनताको पहुँच स्थापित गर्न पहल गर्ने विष्टले घोषणा गर्नुभएको छ ।











