हेटौँडा : बागमती प्रदेशको नुवाकोट र धादिङ जिल्लामा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार राति उनीहरुको उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
नुवाकोटको विदुर नगरपालिका–४ स्थित गल्छी–त्रिशूली सडकखण्डमा फागुन १४ गते राति भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका विदुर–९ का ३४ वर्षीय नवराज श्रेष्ठको मृत्यु भएको छ । बटारबाट त्रिशूलीतर्फ जाँदै गरेको बा ७४ प ४३५८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको थियो । काठमाडौंस्थित न्युरो अस्पतालमा उपचार भइरहेको श्रेष्ठको शनिबार राति ८ बजेर २० मिनेटको समयमा मृत्यु भएको हो ।
यस्तै, धादिङको धुनिवेशी नगरपालिका–६, चालिसेस्थित पृथ्वी लोकमार्गमा मंसिर २० गते भएको सवारी दुर्घटनामा परी घाइते भएका एक भारतीय चालकको पनि मृत्यु भएको छ । गोरखाबाट काठमाडौं जाँदै गरेको बा १ प ९१७ नम्बरको बस, सोही दिशातर्फ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस र विपरित दिशा (काठमाडौंदेखि गजुरी) तर्फ जाँदै गरेको एनएल ०१ एबि ४६५४ नम्बरको डिब्बा गाडि, जिजे ०३ एजेड ३२३१ नम्बरको ईन्डियन बस, बा प्र ०६–००१ ग ००११ नम्बरको बस, ना ४ ख ७१५ नम्बरको ट्रक र बा ९५ प ३०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका डिब्बा गाडीका चालक भारतको गोपालगन्जका ३५ वर्षीय रब्बे आलमको उपचारको क्रममा मृत्यु भएको छ । आलमको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा शनिबार राति ८ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।











