हेटौँडा : हेटौँडा उपमहानगरपालिका–१८ स्थित भुटनदेवी टोलमा शनिबार राति एक घरमा आगलागी हुँदा ५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । स्थानीय अच्युत रोक्काको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
आगलागीबाट रोक्काको घर, घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडा र फर्निचर गरी ५ लाख ५० हजार रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । हेटौँडा उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सामूहिक प्रयासमा राति ११ बजेर २० मिनेटको समयमा आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो । आगलागीमा परी कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।
