हेटौंडा : मुक्तक मञ्च मकवानपुरको अध्यक्षमा पुनः सागर तिमल्सिना चयन हुनुभएको छ । शनिबार सम्पन्न दोस्रो अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा भवानी तिमल्सिना, सचिवमा सुवास सजल, कोषाध्यक्षमा मिथिला अधिकारी र सहसचिवहरुमा अजर फुँयाल र नवीन दर्लामी रहनुभएको छ । यस्तै समितिको सदस्यहरुमा कमल नेपाल, प्रविना प्रयासी, मन्दिरा देवकोटा, विविशा रुम्बा र भावना न्यौपाने रहनुभएको छ ।
वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा मुक्तक मञ्च मकवानपुरले नगद १० हजारसहित हरिकृष्ण काफ्ले सम्मान साहित्यकार डा. मुरारी पराजुलीलाई प्रदान गरेको छ । आधा दर्जन एकल कृतिसहित केही संयुक्त कृति प्रकाशित गरिसक्नुभएका पराजुलीले विभिन्न संस्थाहरुको स्मारिका सम्पादन समेत गरिसक्नुभएको छ । कार्यक्रममा ७ हजार ५ सय नगदसहित तारा स्मृति मुक्तक सम्मान काठमाडौंका साहित्यकार सुनिल अधिकारीलाई प्रदान गरिएको छ । उहाँको दुइवटा कृतिहरु प्रकाशित छन् भने विभिन्न मुक्तक प्रतियोगितामा उत्कृष्ट हुँदै आउनुभएको छ ।
इन्दिरादेवी स्मृति मुक्तक सम्मान साहित्यकार अनिस न्यौपाने (मनको आँखा)लाई प्रदान गरिएको छ । ५ हजार ५ सय ५५ नगदसहित न्यौपानेलाई सम्मान गरिएको हो । न्यौपानेको २०७० मा प्रकाशित गजलसंग्रह ‘पढेपछि थाहा पाउँछौ’ र २०७३ मा मुक्तक संग्रह ‘मनको आँखा’ प्रकाशित भएका छन् । यस्तै ७ हजार ७ सय ७७ रुपैयाँ नगदसहितको बहादुरानन्द स्मृति मुक्तक सम्मान काठमाडौं निवासी साहित्यकार मदन नेपाललाई प्रदान गरिएको छ । उहाँको एउटा एकल मुक्तक संग्रह ‘मनिषा’ प्रकाशित छ भने अन्य ३ वटा संयुक्त मुक्तक संग्रह प्रकाशित रहेका छन् ।
कार्यक्रममा नेपाली मुक्तक संरचना, परम्परा र प्रवृत्ति विषयक विमर्श गरिएको थियो । कार्यक्रमका सहभागीहरुले परम्परागत मुक्तक संरचनाको औचित्य र प्रवृत्तिबारे छलफल गरिएको थियो । यस्तै ३१ औं नियमित मुक्तक वाचन श्रृङ्खला भएको थियो । अग्रज मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख आतिथ्य तथा मुक्तक मञ्च मकवानपुरका सचिव सुवास सजलको सभाध्यक्षतामा भएको कार्यक्रममा मुक्तक मञ्च केन्द्रिय अध्यक्ष अम्बिका दाहाल, मुक्तक मञ्च मकवानपुरका संस्थापक अध्यक्ष डिबि बर्तौला, वरिष्ठ साहित्यकार आरसी रिजालको पनि आतिथ्य रहेको थियो ।











