हेटौँडाः निर्वाचनको मिति नजिकिँदै गर्दा मकवानपुरमा निर्वाचन आचारसंहिता उलङ्घनका घटना बढ्दै जान थालेका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा राजनीतिक दलका प्रतिनिधिहरुसहित सर्वपक्षीय बैठक बस्दै आचारसंहिता अनुगमन समितिले उलङ्घनका घटनाबारे स्पष्ट पारेको हो
।
बैठकलाई सम्बोधन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले हालसम्म समितिमा २ वटा लिखित उजुरी र सामाजिक सञ्जालमार्फत ७ वटा उजुरीहरु परेको जानकारी दिनुभयो । आचारसंहिता अनुगमन समितिले २ वटा लिखित उजुरी तथा सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, हवाट्सएपमार्फत ७ वटा उजुरीहरु परेको जनाएको छ ।
अधिकांश उजुरीहरु दलका उम्मेदवारको चिन्ह र पोष्टर अंकित भएका भेष्ट, टिसर्ट, क्याप, ब्याग प्रयोग गरेको विषयमा परेको पनि सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । यस्तै, निर्वाचन आयोगको अनुमति प्राप्त सवारी साधनभन्दा बाहेकका अटोलगायतका सवारी साधनमा दल तथा उम्मेदवारको पोष्टर लगाइएको पाइएको समेत उहाँले बताउनुभयो ।
यसबाहेक विद्यालयमा राजनीतिक क्रियाकलाप सञ्चालन गरेको, स्थानीय जनप्रतिनिधिहरु आफ्नो पालिका बाहिरमात्र प्रचारप्रसारमा जान पाउने भएपनि आफ्नै पालिकाभित्र प्रचारप्रसारमा सक्रिय भएको पाइएको, आचारसंहिताले तोकेको स्थानभन्दा अन्यत्र झण्डा तथा पोष्टर राखेको, स्थानीय तहका सरकारी सवारी साधनसमेत दलको पक्ष तथा विपक्षमा माइकिङ गर्दै प्रयोग गरिएकोजस्ता गुनासाहरु तथा उजुरीहरु समितिमा आइपुगेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले यस्ता सामग्रीहरु प्रयोग गर्न पूर्णरुपमा निषेध गरिएको भन्दै निर्वाचनसम्म यस्ता कार्यहरु गरेको पाइएमा निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गरिनेसमेत चेतावनी दिनुभयो । दलको चिन्ह, झण्डा, उम्मेदवारहरुको पोष्टर अंकित टिसर्ट तथा भेष्टहरु बिक्री गरिरहेका ९ जनालाई शुक्रबार नै हेटौँडाबाट नियन्त्रणमा लिइएको समेत उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले निर्वाचनको अन्तिम तयारी भइसकेको जानकारी दिनुभयो । निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षाकर्मी, मतदान सामग्री सबै अन्तिम व्यवस्थापन टुङ्ग्याइएको समेत उहाँले बताउनुभयो । उहाँले विकृति नै संस्कृति बन्ने परिपाटीले सच्चिन असहज हुने बताउँदै निर्वाचनमा सबै पक्ष तथा नागरिकहरु सचेत हुनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनको मुखमा फागुपूर्णिमा पर्ने भएकोले यो चाडलाई सकारात्मक रुपले व्यवस्थापन गर्नुपर्ने चुनौती आफूहरुलाई थपिएको बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यंक्रममा निर्वाचन अधिकृत देवेन्द्रराज आचार्य, बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी हरिप्रसाद ढकाल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक जनक पुरी, प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकाल, जिल्लास्थित राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारका प्रतिनिधिलगायत सञ्चारकर्मीहरुको सहभागिता थियो ।
फागुपूर्णिमामा भिडभाड गरेर खेल्न नपाइने
जिल्ला प्रशासन कार्यालय मकवानपुरले फागुन १८ गते परेको फागुपूर्णिमामा भिडभाड नगरी सभ्य तवरले मनाउन आग्रह गरेको छ । फागुपूर्णिमा मनाउने सम्बन्धमा शुक्रबार जिल्ला सुरक्षा समितिद्वारा सूचना जारी गर्दै फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र विश्वसनीय रूपमा सम्पन्न गर्ने वातावरण निर्माण गर्न फागुलाई तडकभडक तबरले नमनाउन आग्रह गरेको हो ।
सूचनामा निर्वाचन आचारसंहिता लागू भइरहेकोले निर्वाचन आचारसंहिताको उल्लंघन नहुने गरी होली पर्व मनाउन सम्बन्धित सबैमा जिल्ला सुरक्षा समितिले आग्रह गरेको छ । हेटाँैडास्थित संगमचोक, बुद्धचोक, सीमाचोक, स्कूलरोड, पारिजातपथ र हुप्रचौरलगायत जिल्लाका अन्य स्थानहरूमा समेत विगतमा जस्तो भिडभाड हुने गरी होली उत्सव कार्यक्रम नगर्न प्रशासनले आग्रह गरेको छ । हेटांँैडालगायत जिल्लाका बजार क्षेत्रमा रहेका साउण्ड सिस्टम व्यवसायीहरुलाई समेत फागुका कार्यक्रमका लागि भाडामा नदिन आग्रह गरेको छ ।
अनुशासितरूपमा होली पर्व मनाउनेसम्बन्धी सार्वजनिक सन्देशमूलक सूचनाहरू विभिन्न सञ्चार माध्यमबाट प्रसारण गर्न आग्रह गरिएको छ । यस्तै, होलीका दिनमा रेष्टुरेण्टमा मदिरा, हुक्कालगायतका पदार्थ बिक्री वितरण तथा सेवन नगर्न तथा नगराउनसमेत अनुरोध गरिएको छ । प्रशासन कार्यालयले होली पर्वको नाममा औपचारिक तथा अनौपचारिक संस्था वा निकायले कार्यक्रम आयोजना गर्न नपाइने र होली पर्व मनाउँदा सकभर घरपरिवारमा आफ्नै कम्पाउण्डभित्र मात्र होली मनाउने र होली खेल्ने कार्य फागुन १८ गते बेलुका ५बजे उप्रान्त नगर्नसमेत आग्रह गरिएको छ ।
यस्तै, होलीका दिनमा कुनै पनि दल वा उम्मेदवार विशेषको पक्षमा नाराबाजी तथा प्रचार सामग्री प्रयोग नगर्न, होलीका नाममा कुनै पनि व्यक्ति तथा संस्थालाई ओद्योगिक प्रतिष्ठानलगायतले सहयोग तथा चन्दा नदिन र निर्वाचन आचारसंहिताको पूर्ण पालना एवम् कार्यान्वयनका लागि जिल्लास्थित स्थानीय तहहरूले होली पर्व मनाउने सन्दर्भमा कार्यक्रमहरू आयोजनाका लागि सार्वजनिक स्थान उपलब्ध नगराउनसमेत सूचनामा उल्लेख गरिएको छ ।











