हेटौँडा : मुक्तक मञ्च मकवानपुरको चौथो वार्षिकोत्सव तथा दोस्रो अधिवेशन आज शनिबार हुँदैछ । हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसको सभाहलमा कार्यक्रम आयोजना हुन लागेको मञ्चले जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा मुक्तक क्षेत्रमा योगदान पुर्याउने चार जना विशिष्ट मुक्तककारहरूलाई सम्मान गरिने भएको छ । मञ्चका अनुसार ‘हरिकृष्ण काफ्ले मुक्तक सम्मान’ बाट डा. मुरारि पराजुली, ‘तारा स्मृति मुक्तक सम्मान’ बाट सुनिल अधिकारी, ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान’ बाट मदन नेपाल र ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मान’ बाट अनिस न्यौपानेलाई सम्मानित गरिनेछ ।
वार्षिकोत्सवको अवसरमा मञ्चले आफ्नो ३१ औँ नियमित मुक्तक वाचन शृंखलासमेत सञ्चालन गर्नेछ । कार्यक्रममा ‘नेपाली मुक्तक संरचना, परम्परा र प्रवृत्ति’ विषयक विमर्श कार्यक्रमसमेत आयोजना गरिएको छ । उक्त विमर्श कार्यक्रममा डा. मुरारि पराजुली, डा. विश्वनाथ सञ्जेल र सुनिल अधिकारीले उल्लेखित शीर्षकमाथि छलफल गर्नुहुनेछ ।
