हेटौँडा : नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार रामेश्वर रानाले नेकपा एमाले मकवानपुरको निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै रानाले निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।
जेनजी आन्दोलनपछि अभिभावकविहीन देखिएको मुलुकलाई संवैधानिक बाटोमा लैजान, राजकीय कानुनी प्रबन्ध गर्नु आफनो प्राथमिकतामा रहेको उम्मेदवार रानाले उल्लेख गर्नुभयो । उहाँले निर्वाचनबाट नयाँ जनादेश लिएर मुलुकमा देखिएको दण्डहीनताको अवस्था अन्त्य एमालेले गर्ने बताउनुभयो । राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षाको निम्ति आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो । रगतसँग साटेर ल्याएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी नेकपा एमालेको रहेकोमा उहाँले जोड दिनुभयो ।
जनताको हक सुरक्षित नगरी हेटौँडाको सडक विस्तार गर्न नहुने उहाँको धारणा छ । सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उम्मेदवार रानाले राजमार्ग विस्तारका प्रभावितहरुलाई आवश्यक क्षतिपूर्ति र उचित व्यवस्थापन गरेरमात्र सडक विस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो । सडकलाई यथास्थितिमा राख्न नहुनेमा पनि उहाँको जोड थियो । उम्मेदवार रानाले एमालेले सपनामात्र देखाउने नभई व्यवहारमा पनि काम गरेर देखाएको दाबी गर्नुभयो । उहाँले नेपालको भूमिलाई कसैले राजनीतिक खेलमैदान बनाउन पाइँदैन भन्ने मान्यता एमालेको रहेको बताउनुभयो ।
प्रतिबद्धतापत्रमा वैदेशिक हस्तक्षेप अन्त्य गर्ने र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने, लोकतन्त्रको सुदृढीकरण गर्दै समाजवादतर्फ उन्मुख हुने, पूर्ण सुरक्षाको ग्यारेन्टी गर्ने उल्लेख गरिएको छ । प्रतिबद्धतापत्रमा कृषि क्षेत्र र कृषि उपजको बजार ग्यारेन्टी, पर्यटन क्षेत्रको विकास, सडक सञ्जाल बिकास, सुकुम्बासी, अव्यवस्थित बसोबास तथा बस्ती विकास, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान तथा हेटौँडा अस्पताललाई सेवा बिस्तार र बिकास, युवा उद्यमशीलता, रोजगारी प्रर्बद्धन र दुव्र्यसनलाई न्यूनीकरण, अनौपचारिक क्षेत्रका उद्यमी र मजदुरको सुरक्षा गर्नेलगायतका विषयहरु उल्लेख गरिएको छ ।
यस्तै, मकवानपुरमा रोकिएका र अधुरा रहेका विकास निर्माणका कार्यहरु सम्पन्न गर्ने, युवाहरुमा सीपमूलक विकास गर्दै रोजगारीको सृजना गर्ने, कृषि क्षेत्रलाई निर्वाहमुखीबाट व्यावसायिकरुपमा विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन पहल गर्ने रानाको प्रतिबद्धता रहेको छ । क्षेत्र नम्बर १ बाट १३ राजनीतिक दलका उम्मेदवार र १० जना स्वतन्त्र गरी कुल २३ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४ सय ३५ मतदाता रहेका छन् ।











