रित बहादुर श्रेष्ठ

नेपाल नजिकिँदो चुनावको संघारमा उभिएको छ, तर देशको भविष्य अझै दिशाविहीन देखिन्छ । निर्वाचन यहाँ सत्ता परिवर्तनको प्रक्रिया बनेको छ, शासन सुधारको माध्यम बन्न सकेको छैन । यही दोहोरिँदो असफलताले चुनावप्रतिको जनविश्वास खस्किँदै गएको छ । राजनीतिक दलहरू भविष्यको सपना बाँड्छन्, तर विगतका असफलताप्रति मौन छन् । घोषणापत्रहरू नाराले भरिन्छन्, तर जवाफदेहिता रिक्त हुन्छ । सत्ता प्राप्तिपछि जनताको स्थान शक्ति केन्द्रले लिने परम्पराले लोकतन्त्रलाई खोक्रो बनाइरहेको छ । नीति होइन संख्या, विचार होइन गठबन्धन र जिम्मेवारी होइन अवसरवादले राजनीतिलाई चलाइरहेको यथार्थ स्पष्ट छ ।

लोकतन्त्रको सार जनताको सार्वभौमसत्तामा निहित हुन्छ र त्यस सार्वभौमसत्ताको व्यावहारिक अभिव्यक्ति चुनाव हो । नेपाल जस्तो बहुदलीय लोकतान्त्रिक व्यवस्थामा चुनाव केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र होइन, जनभावना, असन्तुष्टि र आशाको सामूहिक अभिव्यक्ति पनि हो । आउँदै गरेको चुनावले नेपाली राजनीतिलाई पुनः एक निर्णायक मोडमा पु¥याएको छ ।

नेपालको राजनीतिक अभ्यास हेर्दा जनताले लामो समयदेखि परिवर्तनका लागि संघर्ष गर्दै आएका छन् । राजनीतिक परिवर्तन भए, व्यवस्था फेरियो, संविधान निर्माण भयो, तर जनताको दैनिकीमा अपेक्षित परिवर्तनको अनुभूति अझै सशक्तरूपमा हुन सकेको छैन । यही पृष्ठभूमिमा वर्तमान चुनावलाई जनताले विगतको समीक्षा र भविष्यको मूल्याङ्कन गर्ने अवसरका रूपमा लिएका छन् । देशको भविष्य भनिने युवा पुस्ता रोजगारी र अवसरको खोजीमा देश बाहिरिनु सबैभन्दा गम्भीर संकेत हो । जब मतदान केन्द्रभन्दा विमानस्थल व्यस्त हुन्छ, तब चुनावले भविष्य निर्माण गर्न सक्दैन । शिक्षा, रोजगारी र न्यायमा असफल राज्यप्रति नागरिकको भरोसा कमजोर हुनु स्वाभाविक हो ।

राजनीतिक दलहरू लोकतन्त्रका प्रमुख संरक्षक मानिन्छन् । चुनाव नजिकिँदै जाँदा दलहरूले विकास, सुशासन, सामाजिक न्याय, रोजगारी र समृद्धिका आकर्षक प्रतिबद्धता सार्वजनिक गर्दछन् । यद्यपि, विगतमा यस्ता प्रतिबद्धताहरू कागजमै सीमित भएको अनुभवले जनतालाई सचेत मात्र होइन, शंकालु पनि बनाएको छ । आजको राजनीतिक चुनौती भनेको भाषण र घोषणापत्रभन्दा माथि उठेर विश्वसनीयता र कार्यक्षमता प्रमाणित गर्नु हो ।
राजनीतिक दलहरूभित्र विद्यमान गुटबन्दी, सत्ता केन्द्रित सोच र अल्पकालीन लाभमुखी राजनीतिले लोकतान्त्रिक मूल्यलाई कमजोर बनाउँदै आएको छ । यसले राजनीतिक स्थायित्वमा असर पु¥याउनुका साथै जनविश्वासमा क्षय ल्याएको छ । यद्यपि पछिल्लो समय उदाएका वैकल्पिक राजनीतिक शक्तिहरूले परम्परागत राजनीतिमा प्रश्न उठाएका छन्, जसले प्रतिस्पर्धा र बहसलाई नयाँ आयाम दिएको छ ।
जनताको आकांक्षा अब स्पष्ट र यथार्थपरक बन्दै गएको छ । युवाहरू स्वदेशमै अवसर खोजिरहेका छन्, अभिभावकहरू गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको माग गरिरहेका छन्, किसान र श्रमिकहरू आर्थिक सुरक्षा र सम्मानजनक जीवनको अपेक्षा राखिरहेका छन् । यी सबै अपेक्षाको केन्द्रमा सुशासन, कानुनी शासन र जवाफदेही नेतृत्व रहेको देखिन्छ ।

लोकतन्त्रको सफलताका लागि सचेत नागरिकको भूमिका निर्णायक हुन्छ । मतदाताले भावनात्मक प्रभाव, जातीय आग्रह वा क्षणिक लाभभन्दा माथि उठेर उम्मेदवारको नैतिकता, योग्यता र प्रतिबद्धताको मूल्याङ्कन गर्नुपर्छ । विवेकशील मत प्रयोग लोकतन्त्रको सुदृढीकरणको आधार हो । समस्या चुनावमा होइन, त्यसलाई प्रयोग गर्ने राजनीतिक संस्कारमा छ । सचेत नागरिक र उत्तरदायी नेतृत्व बिना चुनाव केवल औपचारिकतामा सीमित हुन्छ । यदि यो चुनाव पनि पुरानै अभ्यासको निरन्तरता बन्यो भने, जित्ने लोकतन्त्र होइन निराशा हुनेछ । नेपालको भविष्य मतपेटिकाभन्दा बाहिर होइन, त्यसको सही प्रयोगमा निर्भर छ ।

अन्ततः आउँदै गरेको चुनाव राजनीतिक दल र जनताको साझा उत्तरदायित्वको परीक्षा हो । राजनीतिक दलहरूले जनआकांक्षालाई नीतिगत र व्यवहारिक रूपमा सम्बोधन गर्न सक्नुपर्छ भने जनताले पनि आफ्नो मतको मूल्य बुझ्नुपर्छ । जब सचेत नागरिक र उत्तरदायी नेतृत्व एकै दिशामा अघि बढ्छन्, तब लोकतन्त्र सशक्त बन्छ र राष्ट्र समृद्धिको मार्गतर्फ अग्रसर हुन्छ भन्ने कुरामा दुई मत छैन ।