हेटौँडा : हेटौँडा–९ स्थित श्रीकृष्ण आदर्श इंग्लिस बोर्डिङ स्कुलको खेलकुद सप्ताह सम्पन्न भएको छ । प्राथमिक र माध्यमिक तहमा फागुन ८ गतेदेखि छुट्टाछुट्टै सञ्चालन गरिएको कार्यक्रम मंगलबार विजयी विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र तथा शिल्ड वितरण गरेर समापन गरिएको हो । हेटौँडा औद्योगिक क्षेत्रस्थित खेलमैदानमा विभिन्न कक्षाका विद्यार्थीहरूको आकर्षक मार्चपास ड्रिल प्रस्तुतीबाट सुरु भएको कार्यक्रमको मंगलबार विभिन्न विधाका खेलकुदमा सहभागी भई प्रथम, द्वितीय र तृतीय भएका १६९ जना विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र र शिल्ड प्रदान गरेर समापन गरिएको हो ।
खेलकुद सप्ताहमा एथ्लेटिक्स, दौड प्रतियोगिता, भलिबल, तेक्वाण्डो, बुद्धिचाल, डोरी तान्ने खेल समावेश थियो भने चित्रकला, कविता, निबन्ध, हस्तलेखन र प्राथमिक तहका विभिन्न प्रतियोगितात्मक खेलहरु संचालन भएको कार्यक्रमका संयोजक अविन राना मगरले जानकारी दिनुभयो । संयोजक रानाका अनुसार खेलकुद अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै छात्रातर्फ प्रीति यादवले ४ वटा स्वर्ण पदक जित्दै ‘बेस्ट प्लेयर अफ द इयर’ को ट्रफी प्राप्त गर्नुभयो । जयन आले मगरले ३ वटा स्वर्ण पदक जित्दै सोही उपाधि हात पार्नुभयो । त्यसैगरी कक्षा ५ ले सबैभन्दा बढी मेडल जित्दै विद्यालयको रनिङ शिल्ड ट्रफी उचालेको उहाँले बताउनुभयो ।
खेलकुद सप्ताह कार्यक्रमका संयोजक अविन राना मगरको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा विधालयका सहायक प्रिन्सिपल दिपा थापा र शिक्षा संयोजक अशोक सारु मगर, प्रशासन प्रमुख सुदेस्ना सिग्देल, महेश रेग्मी, मदन श्रेष्ठ, दुुर्गा कार्की, अनिता कार्की लगायतको आतिथ्य रहेको थियो । विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास हुने विश्वास व्यक्त गरेको छ ।
