हेटौँडा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१९, बस्तीपुरमा मोटरसाइकल र ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको छ । बुधबार बिहान ५ बजेको समयमा भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकल र नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको ग २ ख ८९८ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय संजित स्याङतान र मोटरसाइकल पछाडि सवार राक्सिराङ गाउँपालिका–१ कै १८ वर्षीय अमोश थिङको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका संजित र अमोशको उपचारको क्रममा ५ बजेर ५२ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले ट्रकलाई पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–१३ स्थित एक ग्यारेजमा भेटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले ट्रक चालक बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–३ का ३६ वर्षीय अनिल साहको खोजी कार्य भइरहेको जनाएको छ ।










