हेटौँडा: लामो समयपछि हेटौँडाको हुप्रचौर राजनीतिक दलको आमसभास्थल बन्न पुग्यो । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको चुनावी सभामा उत्साहजनक सहभागिता देखिन्थ्यो । चुनावी सभामा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले सम्बोधन गर्ने भनिए पनि अन्तिम समयमा बालेन्द्र साह उपस्थित नहुने समाचार सार्वजनिक भयो । यद्यपि रवि लामिछानेले २ बजे नै सम्बोधन गर्ने भनिएको कार्यक्रम झण्डै ५ बजे मात्रै रवि लामिछानेले सम्बोधन गरे ।
रास्वपाको चुनावी सभामा रास्वपाका नेता, कार्यकर्ता भन्दा बढी आम नागरिकको स्वस्फुर्त उपस्थिति देखिन्थ्यो । चुनावी सभामा सहभागिताका लागि रास्वपाले यातायातको व्यवस्था गरेको थिए । जिल्लाभित्र र छिमेकी जिल्लाबाट समेत समर्थकहरुको सहभागिता रहेको थियो । चासोका साथ हेरिएको चुनावी सभामा रास्वपाका उम्मेदवार प्रकाश गौतम, प्रशान्त उप्रेती, रास्वपाका नेता रमेश प्रसाईँले पनि सम्बोधन गर्नुभएको थियो ।
दिउँसो १२ बजेदेखि नै चहलपहल सुरु भएको हुप्रचौरमा २ बजेपछि रास्वाका कार्यकर्ता र समर्थकको बाक्लो सहभागिता रहेको थियो । चासोका साथ हेरिएको सभालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले जेन जी आन्दोलनमा जलेको पैसा एआई नभई वास्तविक भएको दावी गरे । उनले रास्वपाको सरकार बन्दा रास्वपाले २०४६ पछिका सबै काण्डको छानविन निष्पक्ष ढंगले गर्ने उद्घोष गरे ।
देशलाई टाट बनाएर, देशका भर्भराउँदा युवालाई रुँदै देश छाड्न बाध्य बनाएको भन्दै लामिछानेले देशमा जलेको पैसाको मात्रै नभई निर्वाचनपछि रास्वपाको सरकारले विदेशमा लुकाइएको सबै सम्पत्तिको छानविन गर्ने बताए ।आमसभामा सहभागीलाई सम्बोधन गर्दै लामिछानेले आसन्न निर्वाचनमा आजको पुस्ताले मतदान गर्दै गर्दा भविष्यमा छोरा–नातीलाई परिवर्तनका लागि मतदान गरेकोमा गर्व गर्न सक्ने बताउनुभयो ।रास्वपालाई मतदान गरेर परिवर्तनमा योगदान गरेको कुरा छोरा नातीलाई भन्न सकिने उहाँको भनाइ थियो ।
रास्वपा देखेर शिक्षकहरु आत्तिनु नपर्ने लामिछानेले बताए । राजनीतिक दलको संरक्षणले शिक्षकको हक, हित हुने भए शिक्षकले २९ दिन आन्दोलन गर्दा पनि उनीहरुको माग पूरा नभएको स्मरण गराए । शिक्षक, किसानलाई भोट बैंक बनाएको जीकिर गर्दै लामिछानले भने, ‘रास्वपाले शिक्षक, कर्मचारी, किसान र विद्यार्थीको संगठन बनाउँदैन भोट बैंक मात्रै बनाउँछन् ।
शिक्षक, विद्यार्थी, कर्मचारीको हितमा काम गर्नेछ ।’ ५ वर्षलाई मौका दिन आग्रह गर्दै लामिछानेले हेटौँडा सिमेन्ट एउटा सही नेतृत्व परिवर्तन भएसँगै उद्योग फाइदामा लैजाने दावी गरे । रास्वपाले विधिको शासन सञ्चालन गर्ने लामिछानेले स्पष्ट पारे । रास्वपाले सक्षम व्यक्तिलाई नेतृत्व दिने उनको भनाइ छ ।











