प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुर क्षेत्र नम्बर–२ मा चुनावी चहलपहल तीव्र बन्दै गएको छ । यही २१ फागुनमा हुने निर्वाचनलाई लिएर यहाँको राजनीतिक वातावरण केवल चुनावी औपचारिकतामा सीमित नभई पुरानो राजनीतिक निरन्तरता र नयाँ राजनीतिक प्रयोगबीचको टकरावका रूपमा विकसित हुँदै गएको छ । यही द्वन्द्वले यस क्षेत्रको चुनावलाई विशेष चासोको विषय बनाइदिएको छ ।
यसपटक राजनीतिक दलहरू गठबन्धनको सहारा नलिई आ–आफ्नै बलमा चुनावी मैदानमा उत्रिएका छन् । त्यसको प्रत्यक्ष असर मकवानपुर–२ मा देखिएको छ, जहाँ दलगत तथा स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस, एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्र, राप्रपादेखि लिएर साना दल र स्वतन्त्र उम्मेदवारसम्मको उपस्थितिले यो क्षेत्र बहुआयामिक प्रतिस्पर्धाको केन्द्र बनेको छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट एमालेका महेशकुमार बर्ताैला विजयी भएका थिए । उनले त्यसबेला ३४ हजारभन्दा बढी मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका विरोध खतिवडाले करिब ३० हजार मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत र राप्रपाका राजन मैनालीले २ हजार १९४ मत प्राप्त गरेका थिए । यही पृष्ठभूमिमा यसपटक एमालेले पुनः बर्ताैलालाई उम्मेदवार बनाएको छ भने अन्य दलहरूले नयाँ वा फरक अनुहार अघि सारेका छन् ।
भौगोलिक रूपमा विकट मानिने मकवानपुर–२ मा हेटौँडा उपमहानगरपालिकाका चार वडासहित थाहा नगरपालिका, राक्सिराङ, कैलाश, इन्द्रसरोवर, मनहरी, भीमफेदी र मकवानपुरगढी गाउँपालिकाका ४ वटा वडाहरू पर्दछन् । करिब एक लाख ५७ हजार मतदाता रहेको यस क्षेत्रमा तामाङ र चेपाङ समुदायको उल्लेख्य उपस्थिति छ । सामाजिक संरचना, भूगोल र पहुँचका हिसाबले संवेदनशील यो क्षेत्र राजनीतिक रूपमा पनि सधैं अर्थपूर्ण मानिँदै आएको छ ।
जनजाति बाहुल्य क्षेत्र भएकाले यसपटक उम्मेदवारहरू जातीय, सामाजिक र स्थानीय मुद्दालाई केन्द्रमा राखेर मतदाता आकर्षित गर्ने प्रयासमा देखिन्छन् । नेपाली कांग्रेसले जिल्ला सभापति बुद्ध लामालाई उम्मेदवार बनाएर स्थानीयपन र संगठनात्मक आधारलाई जोड दिएको छ । लामाले आफू यही माटोमा जन्मिएको, यहाँका समस्या नजिकबाट बुझेको र भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाइरहेको दावी गर्दै आएका छन् । सुकुम्वासी समस्या समाधान, गाँजाखेतीलाई वैधानिक दायरामा ल्याउने र इन्द्रसरोवर क्षेत्रको पर्यटन विकास उनका प्रमुख एजेण्डा हुन् ।
नेकपाले थाहा नगरपालिकाका पूर्व नगरप्रमुख लोकप्रिय व्यक्तित्व लवशेर विष्टलाई उम्मेदवार बनाएको छ । नगरप्रमुखका रूपमा गरेका विकास, सुशासन र पारदर्शिताका काम नै आफ्नो मुख्य शक्ति भएको उनको भनाइ छ । उनले स्थानीय तहमा देखाएको नेतृत्व क्षमतालाई अब संघीय संसदमार्फत व्यापक बनाउने दावी गर्दै आएका छन् ।
अघिल्लो कार्यकालका प्रतिनिधिसभा सदस्य महेशकुमार बर्ताैला भने आफूले छोटो समयमै सडक, शिक्षा र स्वास्थ्यका क्षेत्रमा ल्याएका योजनाहरू अझै कार्यान्वयनकै चरणमा रहेको भन्दै अधुरा काम पूरा गर्न पुनः जनताको समर्थन आवश्यक रहेको बताउँछन् । निरन्तरता र स्थायित्व नै विकासको आधार भएको उनको तर्क छ ।
झट्ट हेर्दा ठूला भनिने दलहरुको वर्चस्व जस्तो देखिय तापनि यसपालि निर्वाचनको मत नयाँप्रति नै आर्कषण हो कि जस्तो देखिन्छ । अझ देश त घण्टिमय भएको छ, मकवानपुरमा पनि घण्टिको नबुझिँदो रूझान देखिन्छ । भाद्र २३/२४ को जेन जी आन्दोलनपछि मूलुकको राजनीतिक डायनामिक्स फेरिएको छ । जेन जी आन्दोलनको मर्म र भावना बोक्ने राजनीतिक दलप्रति जनचाहना बढेको देखिन्छ ।
यही बीच, मकवानपुर–२ मा परिवर्तन चाहने मतदाताको मनोविज्ञान पनि स्पष्ट देखिन थालेको छ । पुराना दल र पुराना नेताबाट दिक्क भएका नागरिकहरू नयाँ सोच र नयाँ नेतृत्व खोजिरहेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २५ वर्षका प्रशान्त उप्रेतीलाई उम्मेदवार बनाएको छ । उमेरका हिसाबले उनी नेपालकै सबैभन्दा कान्छा उम्मेदवारमध्ये पर्छन्, तर उनका विचार र प्रस्तुतिले उनलाई केवल युवाको परिचयमा सीमित राख्दैन ।
नेपालको राजनीतिमा उमेर प्रायः अनुभवसँग जोडिन्छ, तर मकवानपुर–२ मा त्यो स्थापित धारणा चुनौतीको सामना गर्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र २५ वर्षका प्रशान्त उप्रेतीलाई उम्मेदवार बनाएको निर्णयलाई सुरुमा धेरैले जोखिम ठाने, तर उनको विचार, नीति दृष्टि र विकासको अवधारणा सुन्दा उनी उमेरले होइन, सोचले परिपक्व देखिन्छन् । यही कारण आज मकवानपुर–२ मा एक युवा उम्मेदवारको उपस्थिति पुराना दलहरूका लागि गम्भीर टाउको दुखाइ बनेको छ ।
राष्ट्रिय राजनीतिमा नयाँ अनुहार र नयाँ सोचको खोजी भइरहेका बेला मकवानपुरले एउटा सचेत, स्पष्ट र निडर युवा उम्मेदवार पाएको छ । प्रशान्त उप्रेती नेपालकै सबैभन्दा कान्छा उम्मेदवार भए पनि उनले बोकेको राजनीतिक चेतना सतही नारा र भावनात्मक भाषणमा सीमित छैन । उनको केन्द्रीय प्रश्न सधैं एउटै रहँदै आएको छ ‘के गर्नुप¥यो ?’ यो प्रश्नबाट सुरु हुने उनको राजनीति आलोचनामा अड्किँदैन, समाधान र नीति निर्माणमा केन्द्रित हुन्छ ।
प्रशान्त उप्रेती मकवानपुर क्षेत्र नम्बर–२ अन्तर्गत मनहरीका स्थायी बासिन्दा हुन् । औपचारिक राजनीतिक पृष्ठभूमि नभए पनि उनले लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय भूमिका निभाउँदै आएका छन् । सानै उमेरदेखि समाजमा देखिने विकृति, विसंगति, अन्याय र बहिष्करणका विरुद्ध आवाज उठाउँदै आएका उनी सत्ता प्राप्तिभन्दा पनि सामाजिक परिवर्तनलाई प्राथमिकता दिने पुस्ताको प्रतिनिधि हुन् । यही कारण उनको राजनीति पदमुखी होइन, मूल्य आधारित देखिन्छ ।
शैक्षिक रूपमा उप्रेतीले स्नातक तहमा ट्राभल एण्ड टुरिजम विषय अध्ययन गरेका छन् भने स्नातकोत्तर तहमा शैक्षिक व्यवस्थापन र नेतृत्व विषय अध्ययन गरेका छन् । यस शैक्षिक पृष्ठभूमिले उनको सोचलाई केवल राजनीतिक मात्र नभई प्रशासनिक, नीतिगत र संस्थागत सुधारतर्फ उन्मुख बनाएको छ । उनी विकासलाई योजना, नीति र नेतृत्वसँग जोडेर हेर्छन्, जसले उनलाई भीडभन्दा फरक स्थानमा उभ्याएको छ ।
मकवानपुर–२ का लागि प्रशान्त उप्रेतीले अघि सारेको विकास मोडल परियोजना र नीति केन्द्रित छ । सांसदको मुख्य काम बजेट बाँड्नु वा योजना उद्घाटन गर्नु होइन, संसदमार्फत दीर्घकालीन नीति निर्माण गर्नु हो भन्ने उनको स्पष्ट धारणा छ । त्यसैले शिक्षा, स्वास्थ्य र सामाजिक न्याय उनका सजावटी भाषण होइन संसदमा उठाइने मुख्य एजेन्डा हुन् ।
शिक्षा क्षेत्रमा उनको जोड समावेशी नीति निर्माणमा छ । तामाङ, चेपाङ, वनकरिया, माझी र अन्य पिछडिएका समुदायका बालबालिका अझै पनि भाषिक, आर्थिक र सामाजिक अवरोधका कारण शिक्षा प्रणालीबाट बाहिरिन बाध्य छन् । यस अवस्थालाई अन्त्य गर्न लक्षित छात्रवृत्ति, मातृभाषामा प्रारम्भिक शिक्षा, आवासीय विद्यालय र सीपमूलक शिक्षालाई राष्ट्रिय शिक्षा नीतिमा सुनिश्चित गर्नुपर्ने उनी जोडदार रूपमा उठाउँछन् ।
स्वास्थ्यलाई पनि उप्रेती सेवामात्र होइन, अधिकारका रूपमा बुझ्छन् । मकवानपुर–२ का दुर्गम र जनजाति बाहुल्य बस्तीहरूमा स्वास्थ्य सेवा पहुँच कमजोर हुनु संरचनागत समस्या भएको उनी ठान्छन् । त्यसैले मातृ शिशु स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य र नशा नियन्त्रणलाई लक्षित समुदाय केन्द्रित स्वास्थ्य नीति बनाएर संसदमा बहस गरिनुपर्ने उनको दृष्टि छ ।
सामाजिक न्याय, समावेशिता र आदिवासी जनजाति सशक्तीकरण प्रशान्त उप्रेतीको विकास मोडलको मेरुदण्ड हो । मकवानपुर जिल्ला तामाङ समुदायसहित चेपाङ, वनकरिया, माझी र अन्य आदिवासी जनजातिको ऐतिहासिक बसोबासले बनेको जिल्ला भए पनि यी समुदाय शिक्षा, स्वास्थ्य, भूमिअधिकार र राजनीतिक प्रतिनिधित्वमा संरचनागत रूपमा पछाडि पारिएका छन् । यो समस्या कार्यक्रमको कमीले होइन, न्यायमुखी नीति नहुनुका कारण भएको उनी ठान्छन् । त्यसैले संसदमार्फत विशेष सशक्तीकरण नीति, लक्षित बजेट र कानुनी संरक्षण सुनिश्चित गर्नुपर्ने उनको स्पष्ट अडान छ ।
भूमि, वन र प्राकृतिक स्रोतमा आदिवासी जनजाति समुदायको परम्परागत पहुँचलाई कानूनी मान्यता दिने विषय पनि उनको प्रमुख नीति एजेन्डा हो । सामुदायिक वन, प्रयोगविहीन जमिन र स्थानीय स्रोतको उपयोगमा स्थानीय समुदायलाई प्राथमिकता दिने नीति बिना दिगो विकास सम्भव हुँदैन भन्ने उनको बुझाइ छ ।
यसरी हेर्दा, प्रशान्त उप्रेतीको उम्मेदवारी पुस्तान्तरणको संकेत हो । उनी पुराना संरचना र अभ्यासलाई चुनौती दिने, तर भावनामा होइन नीतिमा आधारित राजनीति अघि सार्ने युवा नेता हुन् । यही स्पष्ट दृष्टि, नीति–केन्द्रित सोच र निडर प्रस्तुतीले मकवानपुर–२ मा मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत उनी ठूला दलहरूका लागि असजिलो प्रश्न बनेका छन् । अस्तु ।।।











