सामान्यतः राम्रो कामका लागि पुरस्कृत हुनु, सम्मानित हुनु सामान्य तर महत्वपूर्ण विषय हो । राम्रो कामलाई प्रोत्साहित गर्न सकियो भने समाजलाई नै राम्रो बनाउँदै लैजान सकिन्छ । विद्यालय शिक्षामा राम्रो नतीजा प्राप्त हुने पुरस्कारले पुरस्कृत हुने विद्यार्थीलाई अझ आफ्नो नतीजामा सुधार ल्याउन प्रोत्साहित गर्नेछ । विद्यालय शिक्षामा वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गर्ने गरिन्छ । अझ कतिपय सन्दर्भमा विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पर्ने भएकोले पुरस्कृत गर्नु भन्दा कमजोर अवस्थाका विद्यार्थीको मनोबल बढाउने र सबै विद्यार्थीले आआफ्नो रुचि र चासोको क्षेत्रमा कुशलतापूर्वक प्रस्तुत हुन सक्ने क्षमता निर्माणमा जोड दिनुपर्ने तर्क गरिन्छ ।
नेपालको सन्दर्भमा साविक एसएलसी परीक्षामा देशभरबाटै उत्कृष्ट विद्यार्थी घोषणा गर्ने, उत्कृष्ट १० विद्यार्थीलाई पुरस्कृत, सम्मानित गर्ने प्रचलन थियो । तर, विद्यार्थीमा कमजोर र अब्बलबीच विभेद देखिने, अब्बल देखिन अस्वभाविक प्रयास गरिने, अब्बल हुन नसक्दा विद्यार्थीमा नैराश्यता बढ्ने भन्दै उत्कृष्ट विद्यार्थी अर्थात् बोर्ड फस्ट, बोर्डमा उत्कृष्ट १० घोषणा गर्ने प्रचलनकै अन्त्य गरियो । यसरी नतीजाको व्यवस्थापनमा विविध अवधारणा आत्मसात गरिए पनि समग्रमा नेपालको विद्यालय शिक्षामा उल्लेखनीय सुधार हुन सकेको छैन । अझै पनि विद्यालय जाने उमेरका बालबालिका ठूलो संख्यामा विद्यालय बाहिरै रहने अवस्था छ । विद्यालयमै रहेका विद्यार्थीमा पनि राम्रो सिकाई, राम्रो नतिजा र उच्च शिक्षा हासिल गर्न सक्षम बन्न नसकेको स्थिति बिडम्बनापूर्ण छ ।
यस्तो पृष्ठभूमिमा विद्यालय शिक्षाको जिम्मेवारी पाएको स्थानीय सरकारहरुले प्रतिस्पर्धी हुँदै असल अभ्यासमा प्रतिस्पर्धा गर्न सकेको देखिँदैन । अपेक्षा विपरित अधिकांश पालिकामा विद्यालयहरु अभिभावकविहिन जस्तै बनेका छन् । विद्यालय शिक्षाको वस्तुस्थिति बुझेर आगामी दिनमा उल्लेखनीय काम गर्ने अठोट जनप्रतिनिधिहरुले लिन सकेका छैनन् । कर्मचारीतन्त्रबाट समग्र सुधारको सम्भावना छैन । नगन्य संख्याका विद्यालयहरुले भने केही सकारात्मक प्रयास गरेका छन् । विद्यालयलाई बालबालिकामैत्री, विद्यार्थीमैत्री बनाउने प्रयास भइरहेका छन् । विद्यालयमा असल अभ्यासको प्रयास भइरहेको छ ।
मकवानपुरको थाहा नगरपालिका–६, बज्रबाराहीस्थित बज्रबाराही माविले विद्यार्थीलाई प्रोत्साहित गर्दै हरेक महिनाको परीक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने गरेको छ । विद्यार्थीलाई पुरस्कारस्वरुप शैक्षिक सामग्री नै उपलब्ध गराउने गरेको छ । विद्यालयले २०७६ सालदेखि नै विद्यार्थीलाई यसरी पुरस्कृत गर्ने गरेको प्रधानाध्यापक रमेशमान डंगोल बताउनुहुन्छ । मासिक परीक्षामा राम्रो गर्ने विद्यार्थीलाई पुरस्कृत गर्नु राम्रो हो । तर, विद्यालयको शिक्षा सुधार गर्न यो मात्रै पनि पर्याप्त होइन भन्ने पनि बज्राबाराही माविको अभ्यासले स्पष्ट पारेको छ । मासिक परीक्षामा पुरस्कृत गरे पनि विद्यार्थीको सिकाई उपलब्धी र नतीजामा भने उल्लेखनीय सुधार हुन सकेको छैन । शिक्षाजस्तो विहंगम क्षेत्रमा कुनै एउटा मात्रै पाटोमा सुधार गरेर शिक्षा सुध्रने अवस्था रहन्न भन्ने बुझाउन बज्रबाराहीको प्रयासबाट सिक्नुपर्छ । विद्यालय र सरोकारवालाले समग्र सुधार गर्दै अगाडि बढ्नुपर्नेमा मूलतः पालिकाकै शिक्षा महाशाखा र शाखाले अवश्यक अग्रसरता देखाउनुपर्छ । पालिकाभरका विद्यालयहरुको वस्तुस्थितिका आधारमा उपयुक्त योजना बनाउने, योजनाको प्रभावकारी कार्यान्वयन गर्दै कार्यान्वयन गरिएको योजनाको निर्मम समीक्षा गरेर आगामी योजना अझ प्रभावकारी बनाउन आवश्यक अध्ययन, अनुसन्धान र आवश्यक नीतिगत, व्यावहारिक पक्षबाट काम गर्नुपर्छ । जसले विद्यालय शिक्षा सुधारको आधार तयार पार्नेछ ।











