साहित्यमा मकवानपुर उर्वर जिल्ला हो । झण्डै एक दर्जन साहित्यिक संस्थाको सक्रियतामा ज्येष्ठ, वयस्क, युवा, किशोर र नवपुस्तामा सहित्यको महत्वपूर्ण चेत छ । साहित्य रचनामा निरन्तर क्रियाशीलता पनि छ । साहित्य सीमित व्यक्तिको अभ्यासको विषय भए पनि यसले आम समुदायमा महत्वपूर्ण प्रभाव, दवाव सिर्जना गरिरहेको हुन्छ । सामान्यतः भाषिक अभ्यासलाई साहित्यको रुपमा बुझ्ने गरिन्छ । साहित्यका विविध विधा छन् । साहित्यका विविध विधा कविता, कथा, निबन्ध, जीवनी, नाटक, मुक्तक, हाइकु, नियात्रा अनेक छन् । साहित्यमा निजी कुरा, निश्चित वर्ग वा समूहका कुरा र सिंगो समाज, देश, महादेश र संसारकै कुरा पनि समेटिन्छ । साहित्यका माध्यमबाट मानिस र समाजको सिधै मनमा प्रवेश गर्न सकिन्छ । कुनै एउटा वाक्यांशबाटै कोही चर्चित हुन्छन् भने सबैलाई त्यस्तो अवसर नरहन पनि सक्छ ।

मंगलबार र बुधबार मकवानपुरको बकैया गाउँपालिकामा झरना साहित्यिक परिवार मकवानपुरले २ दिन झरना साहित्य महोत्सवको आयोजना ग¥यो । झरनाले हरेक वर्ष साहित्य महोत्सव गर्ने गर्छ । मकवानपुरको पूर्वी क्षेत्र बकैया साहित्यमा उर्वर भूमि हो । विद्यालय शिक्षामै शिक्षकदेखि विद्यार्थी र अभिभावक समेत साहित्य सिर्जनामा अभ्यस्त छन् । सबैको सक्रियताबाट केही सीमित संख्यामा त्यस्ता साहित्यकार छन् जसलाई जिल्ला, प्रदेश र सिंगो देशले नै चिन्छ । अझ आजको सूचना प्रविधिको युगमा बकैयाका हस्ताक्षरहरु संसारले पछिरहेका छन् । बकैयाको साहित्यमा स्थानीय सरकारको पनि उल्लेखनीय भूमिका छ । स्थानीय सरकारको साथ, सहयोग र सहकार्यमै साहित्यले फुल्ने, फल्ने अवसर पाइरहेको छ । बकैयाका साहित्यकारले स्थानीय सरकारलाई साहित्य बुझाएको छ । स्थानीय सरकारले बकैयाको साहित्य बुझेको छ ।

एकजना शिक्षक रमेशमोहन अधिकारीको सपनाले आज बकैयालाई साहित्यले ढपक्कै छोपेको छ । बकैया र साहित्य पर्याय जत्तिकै छ । मंगलबार र बुधबार दुई दिन बकैया–४ स्थित महेन्द्र माध्यमिक विद्यालय परिसरमा बकैया साहित्य महोत्सव सम्पन्न भयो । महोत्सवको अवसरमा साहित्य सिर्जना, प्रस्तुती र सम्मानका विशेष कार्यक्रमहरु भए । देशभरका ज्येष्ठ साहित्यकारदेखि बकैयाकै उदीयमान साहित्यकारलाई सम्मान गर्दै बकैया साहित्य महोत्सव सम्पन्न भएको छ । बकैया साहित्य महोत्सव आयोजना भइरहँदा जिल्लाको साहित्य २ दिन बकैयामै पुग्छ । यत्ति महत्वपूर्ण कार्यक्रम भइरहँदा बकैया र मकवानपुरको साहित्यले यो समाजलाई हरेक वर्ष के सिकाइरहेको छ ? के बुझाइरहेको छ ? भन्ने सन्दर्भमा पनि समीक्षा जरुरी छ । साहित्य रचना, प्रस्तुती, सम्मान मात्रै पर्याप्त होइन । साहित्यले समाजलाई मार्गदर्शन गर्ने, गलत बाटाहरुलाई औँल्याएर असल बाटोमा समाजलाई अग्रसर हुन प्रेरित गर्नु जरुरी छ । जुन पछिल्लो समय मकवानपुरको साहित्यमा देखिँदैन ।

समाजलाई प्रश्न गर्ने, जवाफदेहिता खोज्ने साहित्यलाई प्रश्न गर्ने समूहको कमि देखिन्छ । यस्तोमा साहित्य आफैँले आफैँतर्फ प्रश्न गर्ने प्रयास गर्नुपर्छ । आफू र आफ्नो समाजलाई प्रश्न गरेर आफ्नो र समाजको सही मार्ग पहिल्याउने साहित्य जरुरी छ । कतिपय अवस्थामा साहित्य सचेतक नभई अचेतक जस्तो छ । समाजलाई मार्गनिर्देश गर्नुपर्ने साहित्य स्वयम् मार्ग पहिल्याउन असफल भएको पो हो कि भन्ने भान हुन्छ । तसर्थ झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो वार्षिक कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरिरहँदा साहित्यको वास्तविक अभ्यासको पक्षमा पनि ध्यान दिनु जरुरी छ ।