हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कृषि उपजहरुको बजारीकरणमा जोड दिने बताउनुभएको छ । अहिले उत्पादनमा मात्र सबैको ध्यान गएको भन्दै बजारीकरणमा पनि जोड दिने बताउनुभएको हो । आइतबार प्रदेशको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाबीच प्रादेशिक कृषि थोक बजार निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘सरकारले किसानले उत्पादन गरेका हरेक बस्तुहरुको उचित मूल्यसहितको बजारीकरण होस् भन्ने उद्देश्य अनुसार थोक बजार निर्माण गर्न लागेको हो ।’
मुख्यमन्त्री पौडेलले प्रदेश राजधानी हेटौंडामा निर्माण हुने प्रादेशिक कृषि थोकबजार अत्याधुनिक एवम् सुविधासम्पन्न हुने बताउनुभयो । शीतभण्डार, बिक्रि केन्द्रदेखि, प्याकेजिङ तथा अन्य आवश्यक सम्पूर्ण सेवाहरु उपलब्ध हुने जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्ग नजिकै हेटौंडा–११ मा निर्माण हुने यो बजारमा मेचिदेखि महाकालीसम्मका किसानहरुले सेवा लिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘थोक बजारले हेटौंडाको मात्र नभई प्रदेशको र देशको अन्य क्षेत्रको समेत प्रतिनिधित्व गर्छ ।’ थोकबजारको निर्माणले कृषि क्षेत्रमा रहेका समस्या समाधान गरी कृषकहरु आत्मनिर्भर हुने विश्वास व्यक्त गर्नुभयो । बजारको निर्माण र सञ्चालनपछि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हजारौंले रोजगारी पाएसँगै आर्थिक क्षेत्रमा पनि टेवा पुग्ने मुख्यमन्त्रीले बताउनुभयो ।
बजार निर्माणको कामलाई समयमै शुरु गरेर समयमै सम्पन्न गराउन निर्देशनालयलाई निर्देशन पनि दिनुभयो । उहाँले हेटौंडामा निर्माण हुने बजार हेटौंडा उपमहानगरपालिकाको महत्वपूर्ण सम्पति हुने हुँदा त्यसको सम्पूर्ण जिम्मेवारीबोध गरेर काम गर्न उपमहानगरका मेयर तथा उपमेयरलाई अनुरोध गर्नुभयो । थोक बजारले उपमहानगरपालिकाको आर्थिक श्रोतलार्ई समेत वृद्धि गर्ने उहाँको भनाइ थियो । हाल कृषि क्षेत्रमा बिचौलियाहरुको बोलवाला रहेकोले यसको अन्त्य गर्न पनि यो बजारले महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । ‘कृषि उत्पादन बिचौलियाबाट मुक्त हुन्छ, अब यो बजार वास्ताविक किसानका लागि उपयोगी हुन्छ’, उहाँले बताउनुभयो । सरकारले निर्माण गर्न लागेको भएपनि यसको सम्पूर्ण सञ्चालन तथा व्यवस्थापन उपमहानगरले नै गर्ने हुँदा यसको निर्माणको शुरु चरणदेखि नै चासो दिन उपमहानगरका मेयर तथा प्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो । उहाँले भदौ अन्तिमसम्ममा बोलपत्र आव्हान गरेर दशैंपछि काम शुरु गर्ने र छिटोभन्दाछिटो काम सम्पन्न गर्नेगरी प्रक्रिया शुरु गर्न निर्देशन दिनुभयो ।
४१ करोड ६२ लाखमा कृषि थोक बजार
आईतबार बजारको निर्माणका लागि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको उपस्थितीमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र कृषि विकास निर्देशनालयका प्रमुुख रबिन्द्र प्रधानबीच सम्झौता पत्रमा हस्ताक्षर पश्चात सम्झौता आदान प्रदान भएको थियो ।
सम्झौता अनुसार परियोजनाको भौतिक पूर्वाधार निर्माणको कुल लागत विस्तृत परियोजना प्रतिवेदन अनुसार ४१ करोड ६२ लाख ८१ हजार मध्ये प्रदेश सरकारले ७० प्रतिशत र उपमहानगरबाट ३० प्रतिशत लागत साझेदारी हुनेछ । परियोजनाको भौतिक पूर्वाधारको निर्माण हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङमा गरिनेछ भने जग्गाको व्यवस्था उपमहानगरले गर्नेछ । सम्झौता भएको ३ वर्ष भित्र निर्माण कार्य सम्पन्न हुने गरी दुबै पक्षले आ–आफ्नो जिम्मेवारीको बजेटको व्यवस्था गर्नुपर्ने छ । परियोजनाको भौतिक पूर्वाधार निर्माण प्रदेश सरकारले गरी उपहानगरलाई हस्तान्तरण गर्ने लगायतका बुँदाहरु सम्झौता उल्लेख गरिएको छ ।