हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा नाम मात्रैको निषेधाज्ञा छ । हेटौंडामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि साउन २६ गते राती १२ बजेदेखि साउन ३२ गते राती १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरको मुख्यबजार क्षेत्र र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्र आसपास निषेधाज्ञा जारी गरेको हो । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी नै रहेपछि पहिलो पटक साउन ३२ गतेसम्मका लागि लागू गरिएको निषेधाज्ञा भदौ ९ गतेसम्मका लागि थप गरियो । भदौ ९ सम्म पनि कोरोना सङ्क्रमणको दर घट्ने स्थिति नरहँदा स्थानीय प्रशासनले भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा लागु गर्ने निर्णय गर्यो ।
करिब ३ महिनाको लकडाउनमा उकुसमुकस भएका देशभरका नागरिकले जेठ अन्तिमतिर लकडाउन उल्लङ्घन गर्ने स्थिति बनेपछि सरकारले पनि लकडाउन खुकुलो गरेको थियो । तर, लकडाउन खुकुलो गरेको एक महिना पनि हुन नपाउँदै संघीय सरकारले दोहोर्याएर लकडाउन घोषणा गर्ने आँट गर्न सकेन । कोरोना भाइरस सङ्क्रमणको अवस्थाका आधारमा स्थानीय प्रशासनले नै निषेधाज्ञा लागु गर्ने रणनीतिमा संघीय सरकार पुग्यो ।
नागरिककै सचेतताले निषेधाज्ञा प्रभावकारी
हेटौंडा उपमहानगरक्षेत्रमा पनि साउन अन्तिमतिर दुई अङकमा सङ्क्रमित देखापर्न लागेपछि स्थानीय प्रशासनले निषेधाज्ञा लगाउने निर्णय गरेको हो । स्मरणीय के छ भने लकडाउनको अवधि र लकडाउन खुकुलो पारिएपछि पनि संघीय, प्रदेश या स्थानीय तीनै तहका सरकारले सङ्क्रमित पहिचानका लागि पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने तर्फ ध्यान नदिनु, लकडाउनपछि खुकुलो भन्दा पनि खुल्ला नै भएसँगै कोरोना भाइरसको सङ्क्रमण महामारीको रुपमा फैलने त्रास नागरिकमा बढ्दै गएकोले नागरिक आफैं नै सरकारले निषेधाज्ञा लगाए हुने भन्ने अवस्थामा पुगेका थिए । जसका कारण संघीय सरकारको रणनीतिअनुसार निषेधाज्ञा घोषणा गर्न देशभरका स्थानीय प्रशासनलाई सहज भएको देखिन्छ ।
तर, निषेधाज्ञालाई प्रभावकारी बनाउने, निषेधाज्ञाका बेला बढी जनसम्पर्क रहने क्षेत्रका व्यक्तिको परीक्षण गरेर परीक्षणको दायरा बढाउनेतर्फ मकवानपुरको स्थानीय प्रशासनले ध्यानै दिएन । निषेधाज्ञाको घोषणा हुँदै गर्दा धेरैको जिज्ञासा थियो, ‘अब त निस्कनै पाइन्न क्यारे है ।’ अझ स्थानीय प्रशासनले नेपाली सेना समेत परिचालन गरेको समाचार हामीले अनलाइनमा प्रकाशन गरेपछि आम नागरिकमा सतर्कताको स्तर बढेको थियो । तर, स्थानीय प्रशासनले निषेधाज्ञालाई घोषणामै सीमित राख्दा अहिले हेटौंडा बजारमा बेरोकटोक सर्वसाधारणको हिँड्डुल, सवारी साधन सञ्चालनमा छन् ।
मालबाहक ढुवानीका सवारी साधनसँगै निजी सवारीका साधनको बाक्लो चहलपहल छ । अझ अहिले लकडाउनको बेलामा जस्तो बैंक तथा वित्तीय संस्था चलेका छैनन् । तै पनि सवारी चाप र मानिसको चहलपहल निस्फिक्री छ । निषेधाज्ञा लागू गर्न खटिएका नेपाली सेनाको औचित्य नै छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि बेकामे भएका छन् । हेटौंडा बजारको मुख्यचोकमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भलाकुसारी चलिरहेको छ ।
कोरोना भाइरस महामारीको रुपमा फैलन सक्ने त्रासका कारण सतर्क बनेका हेटौंडा उपमहानगरवासीकै कारण निषेधाज्ञा प्रभावकारी देखिएको छ । जसका कारण निषेधाज्ञा लागूभएको दुईसातापछिका स्वाब नमूनामा सङक्रमणको दर घट्दो क्रममा छ । लकडाउन खुकुलो भएपछि बढेको नागरिकको गतिविधिबाट सङक्रमण फैलिएकै कारण साउनको अन्तिम साता र भदौ महिनाको पहिलो सातासम्म सङ्कलित नमूनामा सङ्क्रमितको सङ्ख्या बढी थियो । एकैदिन ६५ जनासम्म सङ्क्रमित पहिचान भएको थियो । तर, भदौ ६ गते यता सङ्कलित स्वाब नमूनाको परीक्षणमा सङक्रमितको दर उल्लेख्य रुपमा घटेको छ । भदौ १ गतेदेखि ७ गतेसम्म मात्रै एक सय ३४ जना सङ्क्रमित पहिचान भएका थिए । भदौ ६ गतेदेखि भदौ १२ गतेसम्म सङ्कलित ९०० स्वाब नमूनामा जम्मा ६० जना मात्रै सङ्क्रमित पुष्टि भएका छन् ।
तथ्याङ्क नै व्यवस्थित छैन
कोरोना भाइरस सङ्क्रमणको जोखिम र त्रास आम सर्वसाधारणमा उच्च तहमा रहीरहँदा स्थानीय प्रशासन र सरोकारवाला निकाय तथ्यांकको व्यवस्थापन गर्ने समेत कुनै योजनामै छैन । दैनिक को, कति सङ्ख्यामा कहाँका, कुन उमेर समूहका, के पेशा, व्यवसायका व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भए भन्ने हामी सञ्चारकर्मीलाई हेटौंडास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले उपलब्ध गराउने विवरण नै एकमात्र स्रोत थियो । त्यो पनि साउन अन्तिमसम्म मौखिकमै सीमित थियो ।
सञ्चारकर्मीकै सल्लाहमा धेरै सञ्चारकर्मीलाई एउटै विवरण मौखिक रुपमा मोवाइलबाट उपलब्ध गराउनुभन्दा सङ्क्रमितको आवश्यक विवरण लेखेर फेसबुकमा फोटो उपलब्ध गराउन भनिएपछि भदौ १ गतेबाट भोलाप्रसाद चौलागाईले लेखेरै विवरण पठाउन सुरु गनुभयो । सूचना लेनदेनकै लागि सहज होस् भनेर फेसबुकमा सञ्चारकर्मीका लागि बनाइएको एउटा ग्रुपमा सञ्चारकर्मी साथीहरुको अनेकौं गुनासापछि बल्ल भदौ १० गतेबाट हेटौंडा उपमहानगरपालिकाको जनस्वास्थ्य तथा आयुर्वेद प्रवद्र्धन शाखाको नाममा सरकारी छापसहितको विवरण प्रकाशित हुन लागेको हो ।
यसबीचमा प्रमुख जिल्ला अधिकारी र जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुखसहित सरोकारवाला व्यक्तिलाई तथ्याङ्क व्यवस्थापनका लागि पनि सुझाव दियौं । सूचना व्यवस्थापन नभएको, त्यसतर्फ ध्यान नपुगेको स्थानीय प्रशासन र जिल्ला स्वास्थ्य प्रमुख, जनप्रतिनिधि र सरोकारवालाले स्वीकार गरे । तर, सूचना व्यवस्थापनतर्फ अझै अग्रसरता छैन । हालसम्म मकवानपुर जिल्लाका ५ जना मृतकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनीहरुको अवस्थाका आधारमा मृत्युको कारण र जिल्लावासीलाई नआत्तिन सतर्क रहन ढाडस दिने प्रयास पनि कुनै निकायबाट भएको छैन ।
आइसोलेसन देखाउन मात्रै
हेटौंडा–४, कर्रास्थित ३० बेडको आइसोलेसन वार्ड लामो समय क्वारेन्टिनकै शैलीमा चल्यो । लकडाउन खुकुलो भएकै कारण सङक्रमित बढेसँगै आइसोलेसनकै शैलीमा स्थापित हुँदै गरेको कर्रास्थित आइसोलेसन सङ्क्रमितहरुले भरिएसँगै हेटौंडा–६, गौरिटारस्थित राट्रिय खेलकुद परिषद्को स्वामित्वमा रहेको खेलकुद प्रतिष्ठानको खेलाडी होस्टल भवनलाई आइसोलेसन बनाइयो । गौरिटारमा १२० बेडको आइसोलेसन वार्ड स्थापना गरेको एकसाता नबित्दै भरियो । अहिले आइसोलेसन वार्डमा भन्दा होम आइसोलेसनमा बस्नेको सङख्या दोब्बर भन्दा बढी छ ।
गौरिटार आइसोलेसन वार्डमा पनि सुरुको साता जात्रा नै भयो । व्यवस्थापनमा केही कमजोरी भए पनि त्यसलाई बढी नै चर्चामा ल्याइयो । कोरोना सङ्क्रमितलाई घरका आफन्त र छिमेकीले समेत छिछि र दुर्दुर गरिरहँदा मानवीय भावनाले ओतप्रोत भएकाहरुले उपचार कोसेली लिएर भीडभाडै गरे । तीन तहको सरकार भएको मुलुकको केन्द्र भागमा रहेको प्रदेशको राजधानीमा १२० जनालाई खाने बस्ने व्यवस्था मिलाउन सकेन । दान गर्नेको ओइरो लाग्यो । यता होम आइसोलेसनमा बस्नेको विषयमा सोधपुछ गर्ने कोही छैन ।
गैरजिम्मेवार सुरक्षा निकाय
निषेधाज्ञा नागरिककै सतर्कताले प्रभावकारी बनेको हो । लकडाउनका बेलामा जस्तो निषेधाज्ञाका बेलामा प्रहरीले बाटो छेक्नु परेन । प्रहरीले छेक्ने प्रयास पनि गरेन । बिहानको समयमा खाद्यान्न खरिद विक्रीका लागि बिहान ८ बजेसम्म छुट दिएको भए पनि बजार क्षेत्रमा नागरिकको भीड देखिएन । तर, सुरक्षा निकायले बिहानै र दिउँसोको समयमा पनि अनावश्यक हिँड्डुल गर्नेलाई रोक्दै रोकेन । बैंक, वित्तीय संस्था बन्द हुँदा पनि चहलपहल कम भयो ।
सुरक्षा निकायले जिल्लाको नाकामा ध्यान नै दिएन । केही दिन पूर्वपश्चिम राजमार्गअन्तर्गत चुरे नजिकै गएर सञ्चारकर्मीको अगाडि निक्कै कडाइ गरेको जस्तो गरेको सुरक्षाकर्मीले निषेधाज्ञाको बेलामा पनि सहजै २ नम्बर प्रदेशबाट आउने निजी सवारीलाई छाडिरहेको छ । ढुवानीका साधनमा पनि मानिसहरु हेटौंडातर्फ प्रवेश गरिरहेका छन् । सीमा क्षेत्रदेखि बजारक्षेत्रमा नै कडाइ गर्नेतर्फ सुरक्षा निकाय विफल भयो ।
वितरण व्यवस्थामा ध्यान पुगेन
कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न भनेर २०७६ साल चैत ११ गतेदेखि लकडाउन घोषणा भएसँगै आम नागरिक घरमै बन्दी भएर बस्न बाध्य भए । दैनिक उपभोग्य वस्तुको किन्नका लागि निस्कन पनि समस्या भयो । लकडाउन घोषणा भएसँगै वितरण व्यवस्थालाई सहज र प्रभावकारी बनाउन ध्यान नपुग्दा कतिपयले दैनिक उपभोग्य वस्तु खरिद गर्न झमेला व्यहोर्नु पर्यो भने कतिपय व्यवसायीले अस्वभाविक मूल्य कायम गर्ने काम समेत भयो । लकडाउनको समयमा हेटौंडाका सहकारीले तरकारीजन्य वस्तुको वितरण व्यवस्था मिलाएको थियो । तर, त्यो पनि क्षणिक मात्रै भयो । अहिले पनि उपभोक्ताले आर्थिक सङ्कटका बेला बढी मूल्य चुकाउन बाध्य छन् ।
निषेधाज्ञामा सुधारको योजना
३ महिना लामो लकडाउनपछि करिब एक महिना पनि सहज दैनिकी नहुँदै तीन साता लामो निषेधाज्ञा व्यहोरेका नागरिकलाई असहज र कष्टकर भएकै छ । तर, निषेधाज्ञा लागू गरेसँगै गरिनुपर्ने सतर्कताका काम केही पनि हुन सकेको छैन । स्वभाविक रुपमा हुने सहजता भन्दा कोरोना सङ्क्रमणको विस्तार सुस्त हुने सिवाय अरु सुधार भएकै छैन । तर, केही सीमित व्यवसायीको चासोमा यतिबेला स्थानीय प्रशासन लकडाउनलाई सहज बनाउनेतर्फ अग्रसर छ । यद्यपि स्थानीय प्रशासन प्रभावकारी रणनीति साथ अगाडि बढ्ने स्थिति छैन । जिल्ला प्रशासन कार्यालय बजार अनुगमनको जिम्मा उद्योग वाणिज्य संघलाई दिएर पन्छिन्छ । दुधको साक्षी बिरालो भने जस्तै ।
जिल्ला र प्रदेशको राजधानीमा कोरोना भाइरसको अवस्थाको वास्तविक वस्तुस्थितिको विवरण स्थानीय प्रशासनसँग छैन । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठक औपचारिकतामा मात्रै सीमित छ । बैठकपछि एकअर्कालाई आरोप प्रत्यारोप गर्ने बाहेक केही छैन । कर्मचारी राजनीतिक दलका नेता र जनप्रतिनिधिलाई दोष दिने, व्यवसायी कर्मचारी प्रशासनलाई दोष दिने, राजनीतिक दलका नेता, जनप्रतिनिधिसँग समस्या समाधानको योजना नै छैन । सूचना व्यवस्थापनमै ध्यान नपुगेका बेला जारी निषेधाज्ञालाई खुकुलो बनाउने विषयको आधार के हुन्छ ?