हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनमा रहेको महेन्द्र माध्यमिक विद्यालयले ‘म शिक्षक, एक अभियन्ता र मेरो अभियान’ कार्यक्रम अन्तर्गत विभिन्न ३६ वटा अभियान सञ्चालन गर्ने भएको छ । विद्यालयका प्रधानध्यापक खेम बिकका अनुसार विद्यालय प्रशासनले अभियान सञ्चालन कार्ययोजना सार्वजनिक गर्दै प्रत्येक शिक्षकलाई एक–एक अभियानको जिम्मेवारी प्रदान गरेको बताउनुभयो । अभियानको उद्घाटन फागुन ११ गते सोमबार बिहान प्रार्थना समयमा गरिने प्रधानाध्यापक बिकले बताउनुभयो । कार्यक्रम करिब एक वर्षसम्म संचालन हुनेछ ।

प्रधानध्यापक बिकका अनुसार अभियानको प्रस्तावनामा परिचय, रणनीति, उद्देश्य, समस्या, लक्षित समूह, सञ्चालन गरिने क्रियाकलाप, समिति तथा उपसमिति गठन, कार्यविभाजन, मूल्याङ्कन तालिका तथा प्रगति विवरणलगायतका विषय समेटिनेछन् । विद्यालयमा अध्ययन गराउने ३६ जना शिक्षक रहनुभएकाले ३६ वटा नै कार्यक्रम संचालन गर्न लागिएको प्रअ बिकले बताउनुभयो । सम्बन्धित शिक्षकहरूले तोकिएको ढाँचामा आफ्नो अभियान प्रस्ताव तयार गरी प्रशासनमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । अभियान सम्बन्धी थप छलफल आइतबार शिक्षक कर्मचारी बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।

कार्यक्रम अन्तर्गत अनुशासन तथा आचरण सुधार, सरसफाइ तथा स्वच्छ विद्यालय वातावरण, वृक्षरोपण तथा हरित विद्यालय, स्वास्थ्य सचेतना, अभिभावक सहभागिता, विद्यालय सम्पत्ति संरक्षण, गणित तथा विज्ञान शिक्षा सुधार, अंग्रेजी माध्यम सुधार, नैतिक शिक्षा, पुस्तकालय व्यवस्थापन, बालमैत्री वातावरण निर्माण, विद्यालय सडक सुरक्षा, प्लास्टिकमुक्त विद्यालय, प्राविधिक शिक्षा प्रवद्र्धनलगायत विविध विषयमा अभियान सञ्चालन गरिनेछ ।

विद्यालय प्रशासनले अभियानलाई प्रभावकारी बनाउन गहन अध्ययन र अनुसन्धान गर्न निर्देशन दिएको छ । प्रधानाध्यापकले शिक्षक समाजका अभियन्ता भएको उल्लेख गर्दै विद्यालयको शैक्षिक सुधार र समग्र विकासका लागि सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । अभियानको सफलताले विद्यालयको प्रतिष्ठा, गुणस्तर र उपलब्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास रहेको उहाँको भनाई छ ।