अभिभावक दिवसमा नृत्य गर्दै विद्यार्थी ।

हेटौँडा : हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयले ४५औँ अभिभावक दिवस मनाएको छ । बुधबार विद्यालयका सञ्चालक नवराज अर्यालको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा अभिभावक दिवस सम्पन्न भएको हो ।

विद्यालयले अभिभावक दिवसको अवसरमा कक्षागत उत्कृष्ट अभिभावकहरुलाई सम्मान गरेको छ । यस्तै कक्षागत अनुशासित विद्यार्थी, उत्कृष्ट शिक्षक, हाइजिन एण्ड स्यानिटेसनतर्फ उत्कृष्ट विद्यार्थी, २०८१ सालको वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेका विद्यार्थीहरुलाई, २०८१ सालको एसईई परीक्षामा ‘ए प्लस’ ल्याउने शिक्षक र ‘ए प्लस तथा ए’ ग्रेड ल्याउने विद्यार्थीहरुलाई अभिभावक दिवसको अवसरमा विद्यालयले सम्मान गरेको छ ।

अभिभावक दिवसको अवसरमा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुतीका साथै विद्यालय परिसरमा विज्ञान प्रदर्शनी पनि गरेका थिए । अभिभावक दिवस कार्यक्रममा वडाध्यक्ष सुशील घिमिरे, हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका निमित्त प्रमुख हरिचन्द्र सापकोटा र प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, स्काउट राष्ट्रिय परिषद् सदस्य अशोक सारु मगरको उपस्थिति रहेको थियो ।