शिक्षकको सुझाव

सफलता अंकमा होइन, प्रयासमा नापिन्छ । विद्यालयमा वार्षिक परीक्षा नजिकिँदै जाँदा विद्यार्थीहरूमा उत्साह, जिज्ञासा र कहिलेकाहीँ डर तथा तनाव पनि देखिनु स्वाभाविक हो । परीक्षा केवल अंक ल्याउने प्रतिस्पर्धा मात्र होइन, वर्षभरि सिकेका ज्ञान, सीप र व्यवहारको मूल्याङ्कन गर्ने एउटा महत्वपूर्ण चरण हो । यस्तो संवेदनशील समयमा अभिभावकको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । घरको वातावरण, अभिभावकको व्यवहार, बोल्ने शैली र अपेक्षाले बच्चाको आत्मविश्वासमा प्रत्यक्ष प्रभाव पार्छ ।

सबैभन्दा पहिले, अभिभावकले घरमा सकारात्मक र शान्त वातावरण सिर्जना गर्नुपर्छ । सधैँ ‘कति पढ्यौ ?’ भनेर दबाव दिनेभन्दा ‘के बुझ्न गाह्रो भयो ?’ भनेर सोध्दा बच्चाले सहज महसुस गर्छ । अनावश्यक तुलना–छिमेकीको बच्चा, आफन्तको छोरा–छोरी वा दाजु–दिदीसँग—गर्दा बालबालिकामा हीनताबोध पैदा हुन सक्छ । त्यसको सट्टा आफ्नै अघिल्लो उपलब्धिसँग तुलना गर्न सिकाउनु राम्रो हुन्छ ।

दोस्रो, व्यवस्थित अध्ययन तालिका बनाउन सहयोग गर्नु आवश्यक छ । बच्चाको क्षमता, रुचि र विषयको कठिनाइलाई ध्यानमा राखेर सन्तुलित समयतालिका तयार पार्न सकिन्छ । लामो समय निरन्तर पढ्नुभन्दा ३०–४५ मिनेट अध्ययन र छोटो विश्रामको अभ्यास प्रभावकारी हुन्छ । यसले दिमागलाई ताजा राख्न मद्दत गर्छ ।

तेस्रो, स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । परीक्षा नजिकिँदा कतिपय बालबालिका रातभर जाग्राम बस्ने प्रयास गर्छन्, जुन दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ । पर्याप्त निद्रा, सन्तुलित आहार, फलफूल, हरियो सागसब्जी र प्रशस्त पानीले शारीरिक तथा मानसिक स्फूर्ति दिन्छ । स्वस्थ शरीरले नै स्वस्थ सोच र स्मरणशक्ति विकास गर्छ ।

चौथो, भावनात्मक साथ सबैभन्दा ठूलो सहयोग हो । कतिपय बालबालिकाले परीक्षाको डर खुलस्त रूपमा व्यक्त गर्न सक्दैनन् । उनीहरूको अनुहार, व्यवहार र बोलाइबाट पनि धेरै कुरा बुझ्न सकिन्छ । अभिभावकले समय निकालेर बच्चासँग खुलेर कुरा गर्नुपर्छ, परीक्षा जीवनको अन्तिम लक्ष्य होइन, असफलता पनि सिकाइको एउटा हिस्सा हो भन्ने सन्देश दिनुपर्छ ।

पाँचौं, विद्यालयसँग नियमित समन्वय राख्नु पनि उत्तिकै जरुरी छ । शिक्षकसँग परामर्श गरेर बच्चाको प्रगति, कमजोरी र सुधारका उपायबारे जानकारी लिन सकिन्छ । घर र विद्यालयबीचको सहकार्यले विद्यार्थीलाई थप मजबुत बनाउँछ ।

छैठौं, परिणामभन्दा प्रयासलाई प्राथमिकता दिनु बुद्धिमानी हुन्छ । उच्च अंकले मात्र सफलताको परिभाषा तय गर्दैन । इमानदार प्रयास, निरन्तर अभ्यास र सिक्ने इच्छा नै दीर्घकालीन सफलताको आधार हुन् । बच्चाले मिहिनेत गरेको छ भने त्यसको प्रशंसा गर्न कन्जुस्याइँ गर्नु हुँदैन ।

समग्रमा भन्नुपर्दाः
१. सकारात्मक र शान्त वातावरण बनाउने ।
२. दबाव होइन, प्रोत्साहन दिने ।
३. नियमित अध्ययन तालिका बनाउन सहयोग गर्ने ।
४. गाह्रो विषयमा साथ दिने ।
५. पर्याप्त आराम र निद्रामा ध्यान दिने ।
६. सन्तुलित र पोषणयुक्त आहार उपलब्ध गराउने ।
७. भावनात्मक समर्थन प्रदान गर्ने ।
८. मोबाइल र टेलिभिजनको प्रयोग नियन्त्रण गर्ने ।
९. अभ्यास र पुनरावृत्तिमा जोड दिने ।
१०. नतिजाभन्दा प्रयासलाई महत्व दिने ।
११. विद्यालय÷शिक्षकसँग नियमित सम्पर्क राख्ने ।
१२. आत्मविश्वास र सकारात्मक सोच विकास गराउने ।

अन्ततः वार्षिक परीक्षा बालबालिकाको यात्राको एउटा सानो मोड मात्र हो । अभिभावकले दिएको माया, विश्वास र प्रेरणाले उनीहरूको भविष्यको दिशा निर्धारण गर्न सक्छ । जब बच्चाले आफू एक्लो छैन, आफ्ना अभिभावक सधैँ साथमा छन् भन्ने अनुभूति गर्छ, तब उसले हरेक चुनौती आत्मविश्वासका साथ सामना गर्न सक्छ । परीक्षा सफलताको अन्तिम गन्तव्य होइन, सिकाइ र आत्मविकासको निरन्तर यात्रा हो र यस यात्रामा अभिभावक नै सच्चा सहयात्री हुन् ।

ज्ञानुका थापा
शिक्षक, जेनिथ इन्टरनेशनल स्कूल, हेटौँडा–५