हेटौँडा : बकैयामा क्रियाशील अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारको आयोजनामा बकैया कला साहित्य महोत्सव–२०८२ सुरु भएको छ । ३२३ औं साहित्य श्रृंखला एवम् ३३औं वार्षिकोत्सवको अवसरमा मंगलबारदेखि महोत्सव सुरु भएको हो ।
झरना साहित्यिक परिवार मकवानपुरकी अध्यक्ष गायत्री रुपाखेतीको सभाध्यक्षता तथा बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख आतिथ्यमा महोत्सवको उद्घाटन समारोह भएको थियो । महोत्सव बकैया–४ स्थित महेन्द्र माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा हुँदैछ । बुधबारसम्म चल्ने दुई दिने कला सहित्य महोत्सवमा विभिन्न विधाका ११ जनालाई सम्मान गरिने आयोजकले जनाएको छ ।
मंगलबार महोत्सव उद्घाटनको अवसरमा बकैया गाउँपालिकास्तरिय अन्तर विद्यालय चित्रकला र कविता प्रतियोगिता सम्पन्न भएको झरना साहित्यिक परिवार मकवानपुरका सचिव निलहरी ढुङ्गेलले जानकारी दिनुभयो । चित्रकला प्रतियोगितामा ४० जना र कविता प्रतियोगितामा १९ जना विद्यार्थीहरुले भाग लिएका थिए । आज बुधबार प्रतियोगिताको नतिजा सार्वजनिक गरिने र पुरस्कार वितरण गरिने सचिव ढुङ्गेलले बताउनुभयो । यसैगरी उक्त अवसरमा आयोजित सकारात्मक सोच अभिवृद्धि कार्यक्रममा मामाघर नेपालका सञ्चालक अर्पण पराजुलीले सहजीकरण गर्नु भएको थियो ।
सचिव ढुङ्गेलका अनुसार महोत्सवको दोस्रो दिन आज बुधबार पुरस्कार समर्पण, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्य, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई सात प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन तथा नवसर्जक रचना वाचनलगायतका कार्यक्रम गरिनेछ ।










