नतिजा सार्वजनिक पश्चात खिचिएको तस्वीर ।

हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनमा रहेको महेन्द्र माध्यमिक विद्यालयले एसईई तयारी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सोमबार विद्यालयले एसईई तयारी परीक्षाको नतिजा प्रकाशनसँगै विश्लेषण गरेको विद्यालयका प्रधानाध्यापक खेमबहादुर विकले जानकारी दिनुभयो ।

परीक्षामा सहभागी ७१ जना विद्यार्थीमध्ये १८ जना विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । परीक्षामा एक विषय लाग्ने १२ जना, दुई विषय लाग्ने १५ जना र बाँकी विद्यार्थी तीन वा तीनभन्दा बढी विषय लाग्ने रहेका छन् । दोस्रो त्रैमासिक परीक्षाको नतिजाका आधारमा केही मात्रामा मात्रै नतिजा सुधार भएको उहाँको भनाइ छ । त्रैमासिक परीक्षामा १४ जना विद्यार्थी उत्तीर्ण भएका थिए ।

गत पुसबाटै बन्द प्रशिक्षणमा विद्यार्थीहरूलाई राखेर पठनपाठन गराउँदै आए पनि नतिजामा सुधार गर्न अझै समय लाग्ने प्रधानाध्यापक विकको भनाइ छ । आगामी दिनमा नतिजा सुधार गर्नका लागि विद्यार्थीलाई अभ्यास बढी गराउने, कक्षा परीक्षामा सहभागी गराउने, कमजोर विद्यार्थीको ग्रुप विभाजन गर्ने, पठनपाठनमा सक्रियता बढाउनेलगायतका कार्यहरू सञ्चालन गर्ने उहाँले बताउनुभयो । एक महिनाकै अवधि भए पनि नतिजा सुधार गर्ने उहाँको भनाइ छ ।

७१ जना विद्यार्थी अध्ययनरत रहे पनि ५६ जना विद्यार्थीमात्रै बन्द प्रशिक्षणमा बस्दै आएका छन् । बाँकी विद्यार्थी कोही स्वास्थ्य समस्याका कारण र कोही घर नजिक रहेका कारण बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै विद्यालयमा बसेर अध्ययन गर्दै आएका छन् ।

विद्यालयले अभिभावकको सक्रियतामा बन्द प्रशिक्षणमा राखेर पठनपाठन गर्दै आइरहेको छ । विद्यालयमा पालिकाबाट बन्द प्रशिक्षण सहयोग नरहेको उहाँ बताउनुहुन्छ । विद्यालयलाई पालिकाले नमुना विकास कार्यक्रम अन्तर्गत प्रदान गरेको बजेटबाट केही बजेट बन्द प्रशिक्षणको लागि छुट्याएको छ ।

बढीजसो विद्यार्थीहरू गणित र विज्ञान विषयमा कमजोर रहेको उहाँको भनाइ छ । नतिजामा पनि विद्यार्थीहरूलाई गणित र विज्ञान विषय नै बढी लागेको छ । २०८१ सालको एसईई परीक्षामा ६५ जना विद्यार्थीले परीक्षा दिए पनि २४ जना विद्यार्थीमात्रै ग्रेडेड भएका थिए । गत वर्षको तुलनामा यस वर्ष नतिजा सुधार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

विद्यालयमा यस वर्ष कक्षा ८ मा ५७ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् । विद्यालयले ८ कक्षाका विद्यार्थीहरूलाई गणित, विज्ञान र अंग्रेजी विषयको अतिरिक्त कक्षाहरू सञ्चालन गर्दै आएको छ । ८ कक्षाको परीक्षा पालिकाले निर्णय गरेपश्चात चैतको पहिलो हप्ताबाट सुरु हुनसक्ने उहाँको भनाइ छ ।