हेटौँडाः कैलाश गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि कैलाश–३ को भवानी माध्यमिक विद्यालयले जितेको छ । सोमबार सम्पन्न भएको प्रतियोगितामा भवानी माध्यमिक विद्यालयले ८ स्वर्ण, ६ कास्य र ३ रजतसहित उपाधि उचालेको हो ।
लगातार तेस्रो पटक प्रतियोगिता विजेता बनेसँगै भवानी माविले रनिङशिल्ड जितेको छ । प्रतियोगितामा ५/५ वटा स्वर्ण, कास्य र रजत प्राप्त गरेको कैलाश–१० स्थित रत्नज्योति माध्यमिक विद्यालय द्वितीय र ४ स्वर्ण, ४ कास्य र ५ रजत प्राप्त गरेका कैलाश–९ स्थित कालिका माध्यमिक विद्यालय तृतीय भएको हो ।
प्रतियोगिता भवानी माविको खेल मैदानमा भएको थियो । प्रतियोगितामा छात्र र छात्रा भलिबल, तेक्वान्दो र एथ्लेटिक्स विधाका खेलहरु भएको गाउँपालिकाका शिक्षा अधिकृत समिर जोशीले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताहरुले फागुन ११ गतेदेखि हुने मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागिता हुन पाउनेछन् । भवानी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज ओझाको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोेह भएको थियो ।
