हेटौँडाः मनमाया स्मृति गजल प्रतियोगितामा इन्दिरा विश्वकर्मा प्रथम हुनुभएको छ । शनिबार गजल मञ्च मकवानपुरको आयोजनामा प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा प्रथम हुनुभएका हेटौँडा–१८, फुर्केचौरस्थित गोरक्षनाथ माध्यमिक विद्यालयको कक्षा १० की छात्रा विश्वकर्माले प्रमाणपत्रसहित ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ । विसं २०७२ सालदेखि गजल मञ्चले निरन्तर आयोजना गर्दै आएको यस प्रतियोगिताको लागि गजल मञ्चका पूर्वअध्यक्ष दीपक गौतमले आफ्ना हजुरआमाको स्मृतिमा पुरस्कारको व्यवस्था गर्नुभएको हो ।
प्रतियोगिता हेटौँडा–४ स्थित साहित्य संगम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरको सभाहलमा भएको थियो । प्रतियोगिताका लागि प्राप्त १८ वटा गजलमध्ये पहिलो चरणमा उत्कृष्ट १० वटा छनोट गरिएको थियो । उत्कृष्ट १० वटा गजलका गजलकारहरुले शनिबार अन्तिम चरणको प्रतियोगितामा उपस्थिति भएर गजल वाचन गरेका थिए ।
प्रतियोगितामा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायकहरुमा गजल मञ्च मकवानपुरका निवर्तमान अध्यक्ष केशव समर्पण र साहित्य संगमका सहसचिव भवानी तिमल्सिना हुनुहुन्थ्यो ।
यसैगरी, गजल मञ्च मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको ५ हजार रुपैयाँ राशिको श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मानबाट गजलकार कुमार नेगी (पालुङ्गेचरा) सम्मानित हुनुभएको छ । नेगीले गजल विकासमा पु¥याउँदै आउनुभएको योगदानको लागि गजल मञ्चले सम्मान गरेको हो ।
गजल मञ्च मकवानपुरका अध्यक्ष संजित श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्य संगम मकवानपुरका सल्लाहकार डा. निमेष निखिलको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि निखिलले कार्यक्रममा बोल्नुहुँदै सहभागी प्रतियोगीहरुलाई गजल लेखनबारे बताउनुभयो । कार्यक्रममा अन्य गजलकारहरुले पनि आफ्ना गजल वाचन गरेका थिए ।










