हेटौँडा : ‘शान्तिका लागि धम्म यात्रा भगवान बुद्ध जन्मस्थल लुम्बिनीसम्म’ भन्ने उद्देश्यका साथ थाइल्यान्डबाट पैदल यात्रामा निस्किएका २२ जना बौद्ध भिक्षुहरुको टोली आज बिहीबार हेटौँडा आउँदैछन् । थाइल्यान्डको वाट थाम्पाइ विहारका प्रमुख भिक्षु आचान सूफित भन्तेको नेतृत्वमा रहेको यो टोली भगवान बुद्धको जन्मस्थल लुम्बिनीसम्मको पैदल यात्रामा छन् ।
भारतको आसाम र त्रिपुरा हुँदै नेपाल प्रवेश गरेको यो टोली गएराति बाराको अम्लेखगन्जमा बास बसेका थिए । आज हेटौँडा आइपुग्ने भिक्षुहरुको टोलीलाई हेटौँडास्थित प्रज्ञा महाविहारले स्वागत तथा आवासको व्यवस्थापन गरेको छ । विहारका निवर्तमान अध्यक्ष नियम राज शाक्यका अनुसार भिक्षुहरु आज दिउँसो ४ बजेसम्म हेटौँडा आइपुग्ने छन् ।
आज राति हेटौँडामा बास बस्ने र भोलि बिहान भिक्षुहरु चितवनतर्फ प्रस्थान गर्ने शाक्यले बताउनुभयो । विश्व शान्तिको कामना गर्दै गत फेब्रुअरी ८ तारिखदेखि गोल्मराज बुद्ध विहारबाट सुरु भएको यो पदयात्रा आगामी फेब्रुअरी २२ तारिखमा कपिलवस्तु पुगेर समापन हुने कार्यतालिका रहेको छ । यस अभियानमा बाटोमा इच्छुक अन्य भिक्षुहरु पनि सहभागी हुन पाउने छन् ।
