मतदान ‘मत’ र ‘दान’ दुई शब्द मिलेर बनेको शब्द हो। ‘मत’ भन्नाले व्यक्तिको आन्तरिक आशय, धारणा र विचार जनाउँछ भने ‘दान’ भन्नाले स्वेच्छाले कसैलाई दिइने वस्तु बुझिन्छ। लोकतान्त्रिक व्यवस्थामा यी दुई शब्दको संयोजनले गहिरो अर्थ बोकेको छ। लोकतन्त्रमा राज्य सञ्चालनका लागि जब दुई वा दुईभन्दा बढी राजनीतिक दल वा उम्मेदवारबीच प्रतिस्पर्धा हुन्छ, त्यस्तो अवस्थामा मतदाताले आफ्नो विचार र चाहनालाई गोप्य, स्वतन्त्र र सहज ढङ्गले उम्मेदवारको चुनाव चिह्नमा छाप लगाएर अभिव्यक्त गर्ने प्रक्रिया नै मतदान हो।

नेपालको संविधान, २०७२ ले प्रत्येक नागरिकलाई मतदान गर्ने अधिकार सुनिश्चित गरेको छ। यो अधिकार धनी गरिब, शिक्षित अशिक्षित, महिला पुरुष भन्ने कुनै विभेद बिना सबै नागरिकलाई समान रूपमा प्रदान गरिएको छ। यहाँ प्रधानमन्त्रीको एक मत र गाउँको साधारण किसानको एक मतको मूल्य समान हुन्छ।यही नै लोकतन्त्रको सुन्दरता हो।

संविधानले स्पष्ट रूपमा १८ वर्ष पूरा गरेका, नेपाली नागरिकता प्राप्त गरेका र मतदाता नामावलीमा दर्ता भएका सबै नागरिकलाई मतदान गर्ने अधिकार प्रत्याभूत गरेको छ। यो अधिकार केवल सुविधा होइन, राष्ट्रप्रतिको जिम्मेवारी पनि हो।

समस्याग्रस्त जनता र तहसनहस भएको देशमा विवेकपुर्ण मतदान तारणहार सावित हुन्छ भने तानाशाही प्रवृत्तिका लागि शक्तिशाली सुनामी बन्छ। मतदान आफैंमा क्रान्ति होइन, तर क्रान्तिको बीउ हो। यो परिवर्तन होइन, तर परिवर्तनतर्फ लैजाने बाटो हो। यो हल्ला होइन, इतिहास बनाउने मौन हस्ताक्षर हो।

मानिसको जन्मदेखि मृत्यु सम्म, गाउँको सानो छाप्रोदेखि सिंहदरबारसम्म, किसानदेखि राष्ट्रको नेतृत्वसम्म,गाउँ देखि देश विदेशसम्म , प्रकृति देखि जीवजन्तु र पर्यावरणसम्म पनि मतदानको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव देखिन्छ। त्यसैले मतदानको अर्थ, महत्व र मूल्यलाई कुनै पनि भौतिक मूल्यवान वस्तुसँग पनि तुलना गर्न सकिँदैन।

निर्वाचन संरचना–

नेपालको संविधान, २०७२ ले जनताको हक, हित र विकासलाई केन्द्रमा राख्दै राज्यलाई संघीय, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गरेको छ। ती तीनै तहमा जनताले आफ्ना प्रतिनिधि छान्न पाउने व्यवस्था गरिएको छ।

संघीय तहको निर्वाचन राष्ट्रको मुटु हो। प्रतिनिधि सभामा जनताको प्रत्यक्ष स्वर गुञ्जिन्छ भने राष्ट्रिय सभामा अनुभव र स्थायित्वको आवाज सुनिन्छ। यही तहमा देशको नीति, दिशा र भविष्य कोरिन्छ।

प्रदेश तहको निर्वाचन संघीयताको सेतु हो। यसले स्थानीय चाहना र राष्ट्रिय लक्ष्यलाई जोड्छ। प्रदेश सभामार्फत आफ्नो भूगोल, संस्कृति र आवश्यकताको आवाज सत्ताको केन्द्रसम्म पुग्छ।

स्थानीय तहको निर्वाचन लोकतन्त्रको जरा हो। गाउँ, नगर, उपमहानगर र महानगरमा जनताले आफ्नै आँगनबाट मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरू चयन गर्छन्।

माथि संक्षिप्तरुपमा ३ तहको निर्वाचन सम्बन्धमा चर्चा गरियो।अब ति ३ तहको निर्वाचनमा मतदाताले कुन आधार र सिध्दान्तमा मतदान गर्ने अभ्यास छ त्यस सम्बन्धमा संक्षिप्त चर्चा गर्ने प्रयास गर्नेछु।

लोकतान्त्रिक ब्यवस्थामा मतदाता सँधैं केन्द्र बिन्दुमा रहेको हुन्छ। तर मतदाताको निर्णय सधैं विवेक, नीति र क्षमतामा आधारित हुन्छ भन्ने अपेक्षा नेपाली समाजमा अझै पूर्ण रूपमा स्थापित भइसकेको छैन। व्यवहारिक यथार्थ हेर्दा, नेपाली समाजमा धेरैजसो मतदाताले आदर्शभन्दा बढी परम्परा, भावना, प्रभाव र तत्कालीन लाभलाई आधार मानेर उम्मेदवार चयन गर्ने गरेको पाइन्छ।

नेपाली समाजमा मतदातालाई सबैभन्दा छिटो आकर्षित गर्ने तत्वमध्ये एक जात, समुदाय र क्षेत्रीय हो भने अर्को धार्मिक,सांस्कृतिक र संस्कारको आधारमा पनि मतदान गर्ने गरेको पाइन्छ।जुन लोकतान्त्रीक मुल्य मान्यता र सिध्दान्त बिपरित रहेको छ।

मतदानमा देखिएको अर्को अभ्यास नातागोता, ईष्टमित्र, छरछिमेकीको आधार र आफ्नो मान्छे” भन्ने भावनाले उम्मेदवारको योग्यता, इमानदारी वा दृष्टिभन्दा अगाडि स्थान पाउने गरेको देखिन्छ। यसले लोकतान्त्रिक प्रतिनिधित्वलाई समावेशी बनाउनेभन्दा पनि संकुचित घेराभित्र सीमित गरिदिन्छ।

त्यसैगरी ठूला र स्थापित राजनीतिक दलका उम्मेदवारप्रति मतदाताको झुकाव स्पष्ट देखिन्छ। उम्मेदवार व्यक्तिगत रूपमा जस्तो सुकै आचरण भएको होस,मतदान पार्टीको इतिहास, चुनाव चिन्ह र संगठनात्मक शक्तिले मत तान्ने अवस्था अझै विद्यमान छ। यसले सक्षम तर स्वतन्त्र वा नयाँ अनुहारलाई अगाडि आउन कठिन बनाएको छ।

चुनावको समयमा देखिने अर्को यथार्थ हो पैसा र प्रलोभनको प्रभाव। भोजभतेर, नगद, वस्तुगत सहयोग, यातायात वा व्यक्तिगत सहयोगको आश्वासनले मतदाताको निर्णय प्रभावित हुने गरेको कुरा नकार्न सकिँदैन। गरिबी र बेरोजगारीको यथार्थले यस्तो प्रवृत्तिलाई अझ मलजल गरेको छ।

नेपाली मतदाताको ठूलो हिस्सा भावनात्मक भाषण र आकर्षक नाराबाट प्रभावित हुने गरेको पनि देखिन्छ। ठोस नीति र कार्ययोजनाभन्दा राष्ट्रवाद, परिवर्तन, विकास र क्रान्तिजस्ता ठूला शब्दले तत्काल लोकप्रियता पाउँछन्। परिणामतः व्यवहारमा कार्यान्वयन हुन नसक्ने वाचाहरूले समेत मत बटुल्ने गरेका छन्।

यसका साथै पहुँच र सिफारिसको संस्कृति पनि मतदाताको निर्णयमा गहिरो रूपमा जोडिएको छ। “काम मिलाइदिन्छ”, “मुद्दा सुल्झाइदिन्छ” भन्ने व्यक्तिगत आश्वासन दिने उम्मेदवारलाई सक्षम र नीतिवान उम्मेदवारभन्दा बढी विश्वास गर्ने प्रवृत्ति पाइन्छ। लोकतन्त्रभन्दा व्यक्तिवाद हाबी हुनु यसको संकेत हो।

अर्को अभ्यास नेपाली समाजमा पटक पटक जितेका परिचित अनुहारप्रति भरोसा गर्ने मानसिकता बलियो छ। नयाँ, शिक्षित र सक्षम उम्मेदवारभन्दा “पहिले देखेकै, सुनेकै” व्यक्तिलाई सुरक्षित विकल्प ठान्ने सोचले राजनीतिको नविकरणमा अवरोध पु¥याइरहेको छ।

निष्कर्षमा, नेपाली समाजको मतदान गर्ने अभ्यास अलोकतान्त्रीक ,अविवेकपुर्ण ,सिध्दान्तबिहिन र अव्यवहारिक छ।

देशमा बिद्यमान कुशासन र चुलिएको भ्रष्ट्राचार सम्बन्धमा पछिलो चरणमा नयाँ राजनैतिक दलहरुको उदय पछि पुराना र नयाँ दलहरु बिच आरोप प्रत्यारोपले नयाँ नयाँ रहष्यहरुको रहष्यदोघाटन भै मतदातामा नयाँ चेतना जागरण भएको पाइन्छ।शिक्षा, सञ्चार माध्यम र नागरिक चेतनाको विस्तारसँगै मतदाताको सोच क्रमशः परिवर्तन हुँदै गएको छ। अझ देशमा मतदाता सचेतना जागरण पर्याप्त नभएकोले लोकतन्त्रलाई अझ सुदृढ र सशक्तिकरण गर्न मतदातामा सचेतना पर्याप्तरुपमा जागरण गर्न आवश्यक देखिन्छ।

अब चर्चा गरौं कस्तो दल वा उम्मेदवारलाई मतदान गर्ने ?–

निर्वाचन लोकतान्त्रीक व्यवस्थाको मेरुदण्ड हो र मतदान त्यसको आत्मा।त्यसैले निर्वाचनमा मतदान गर्दा भावनामा होइन,लोकतान्त्रीक व्यवस्थाको मुल्य,मान्यता र मर्म अनुरुप मतदाताले विवेक र दायित्व निर्वाह गर्न अत्यावश्यक हुन्छ।

मतदान गर्नुअघि एक मतदाताले सबैभन्दा पहिले मनन गर्नु पर्ने उम्मेदवार वा दलको संविधानप्रतिको प्रतिबद्धता हो। संविधानको सम्मान नगर्ने, लोकतान्त्रिक मूल्य र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्ति भएको व्यक्ति वा दल सत्तामा पुगेपछि नागरिक अधिकारमाथि नै खतरा पैदा हुन सक्छ। त्यसैले लोकतन्त्रमा आस्था राख्ने र संवैधानिक मर्यादामा रहने शक्तिलाई नै प्राथमिकता दिनुपर्छ।

त्यसैगरी इमानदारी र नैतिकता उम्मेदवारको सबैभन्दा ठूलो गहना हो। भ्रष्टाचारविरुद्ध भाषण गर्ने तर व्यवहारमा त्यसैमा लिप्त हुने प्रवृत्तिले देशलाई वर्षौंदेखि पछाडि धकेलेको छ। अघिल्लो जीवनशैली, सार्वजनिक व्यवहार र निर्णयबाट पारदर्शिता देखिएको उम्मेदवार नै मतदाताको विश्वासको पात्र हुन सक्छ।

निर्वाचन घोषणापत्र केवल आकर्षक शब्दहरूको संग्रह हुनु हुँदैन। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र सुशासन जस्ता आधारभूत विषयमा स्पष्ट, व्यावहारिक र कार्यान्वयनयोग्य कार्यक्रम भएको दल वा उम्मेदवार रोज्नु आजको आवश्यकता हो। असम्भव सपना बाँडेर होइन, सम्भव काम गरेर समाज परिवर्तन हुन्छ।

लोकतन्त्रको अर्को महत्वपूर्ण मूल्य हो समावेशिता र सामाजिक न्याय। जात, वर्ग, लिङ्ग, भाषा वा क्षेत्रको आधारमा विभेद नगरी सबै नागरिकलाई समान दृष्टिले हेर्ने, सीमान्तकृत समुदायका आवाजलाई बुझ्ने सोच भएको नेतृत्वले मात्र सन्तुलित समाज निर्माण गर्न सक्छ।

निर्वाचन जितेपछि जनता बिर्सने होइन, जनताप्रति उत्तरदायी र जवाफदेही रहने उम्मेदवार लोकतन्त्रका साँचो प्रतिनिधि हुन्। जनताको प्रश्न सुन्न सक्ने, आलोचना सहन सक्ने र गल्ती सच्याउन सक्ने नेतृत्व नै दीर्घकालीन रूपमा विश्वसनीय हुन्छ।

मतदाताले मतदान गर्ने बिभिन्न आधार मध्य एउटा प्रमुख आधार उमेदवार तथा दलको बिगत गतिबिधिहरु हुन।यसलाई पनि मतदाताले सुक्ष्म ढंगले केलाउन आवश्यक छ।

किनभने यदि निर्वाचित जनप्रतिनिधि चुके भने जनताले अर्को पटक प्रतिनिधि बदल्न सक्छन्। तर जनता स्वयं आफ्नो कर्तव्य र दायित्वबाट चुक्यो भने न राष्ट्र रहन्छ, न राष्ट्रियता।

मतदाता जति सचेत हुन्छ, शासन त्यति नै जिम्मेवार हुन्छ, र शासन जति जिम्मेवार हुन्छ, राष्ट्र त्यति नै समृद्ध र सशक्त बन्छ।

अन्तत आज हाम्रो राष्ट्र यो राजनैतिक तरल र संकटावस्थाबाट गुज्रीरहेको छ। यो अवस्थाबाट मुक्तिको निमित्त तारणहाररुपी नेपाली जनताले सचेत भएर सही दल र सही उम्मेदवारको छनोट गर्न अपरिहार्य छ।