Home मुख्य समाचार असुरक्षित सडक

असुरक्षित सडक

पछिल्लो एक हप्तामा मुलुकमा दुईवटा बस दुर्घटनाको समाचारले धेरैलाई झस्काएको छ । मंगलबार रामेछापको मन्थली नगरपालिका–६, बेनिघाट पुल नजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा प्र ००१–०५ ख ९९७५ नम्बरको अरनिको यातायातको बस सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेर डुबेको थियो । गत बिहीबार बेलुका बैतडीको पुर्चाैडी नगरपालिका–७ को बढ्गाउँ मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गयो । पुर्चाैडी नगरपालिका–७ को भौनीगाउँबाट बेहुली लिएर बझाङको वित्थडचिर गाउँपालिका–७, लघुणाछा जाँदै गरेको बस दुर्घटनामा ३४ जना घाइते भएका थिए । पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनामा बेहुला र बेहुलीपट्टिका आफन्त र इस्टमित्रले ज्यान गुमाउनु परेको थियो ।

यी दुई दुर्घटना मुलुकको सवारी दुर्घटनाको उदाहरणमात्र हो । धेरै जनाको ज्यान जाने गरी दुर्घटना हुँदा सडक सुरक्षाको बारेमा केही चर्चा हुने गरे पनि दिनहुँ हुने सातातिना दुर्घटनाप्रति कसैको चासो र चिन्ता देखिँदैन । बैतडीमा दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको संख्या जोड्दा उक्त बसमा ४७ जना यात्रु सवार रहेको देखिन्छ । रातिको समयमा क्षमताभन्दा धेरै बढी यात्रु बोकेर ग्रामीण क्षेत्रमा बस चलाउनु नै दुर्घटनाको प्रमुख कारण बनेको मान्न सकिन्छ । दुर्घटनाले दुईवटा गाउँलाई शोकमा डुबाएको कारण बैतडीको पुर्चौडी नगरपालिकाले एक दिन शोक विदा नै दिएको थियो । रामेछापको दुर्घटनामा पनि बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । काठमाडौँको जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेको यातायात समितिले जनाए पनि बाटोबाट अन्य कति जना यात्रु थपिए भन्ने निश्चित भएको छैन । ८ जना यात्रुले टिकट काटेको भए पनि १२ जनाको मृत्यु र ८ जना घाइते भएपछि मृतक तथा घाइतेको बिमा र उपचारमा जटिलता उत्पन्न हुने निश्चित छ । त्यही भएर मृतकका आफन्तले बुधबार क्षतिपूर्ति र उपचारको माग गर्दै मन्थलीमा प्रदर्शनसहित चक्काजाम गरेका छन् ।

पछिल्लो समयमा सवारी दुर्घटना र यसबाट हुने जनधनको क्षति डरलाग्दो बनिरहेको छ । एकपछि अर्को दुर्घटना भइरहँदा सार्वजनिक यातायात असुरक्षित हुँदै गएको आभाष गराइरहेको छ । आम नागरिकको पहुँचमा रहेको एकमात्र सडक यातायातबाट यात्रा गर्दा निकै जोखिम मोल्नुपर्ने अवस्थाबाट यात्रुहरु मुक्त हुन सकेका छैनन् । सवारी दुर्घटनाकै कारण वर्षेनि ३ हजारभन्दा बढीको ज्यान जाने गरेको प्रहरीको तथ्यांक छ । नियमनकारी सरकारी निकाय र यातायात व्यवसायी सवारी साधनको नियमन र दुर्घटना न्यूनीकरणप्रति उदासिन बनिरहँदा धेरैले ज्यान गुमाउनु परिरहेको छ । घाइते तथा अङ्गभङ्ग हुनेको संख्या त्योभन्दा धेरै गुणा बढी रहेको छ ।

सवारी दुर्घटना हुनु भनेको सडक असुरक्षित हुनु हो । बारम्बार सवारी दुर्घटना हुनु र धेरै मानिसको ज्यान जानुले सडक सुरक्षाप्रति सरोकारवालाको ध्यान जान नसकेको स्पष्ट हुन्छ । सवारी दुर्घटनाका अनेक कारण हुने भए पनि नेपालमा अधिकांश सवारी दुर्घटना मानवीय त्रुटीका कारण हुने गरेको पाइएको छ । अझ सोझै भन्दा चालकको लापरबाही नै सवारी दुर्घटनाको मुख्य कारण बनिरहेको छ । सडकको अवस्था राम्रो नहुनु, सडक अनुकूलको सवारी साधन नहुनु, क्षमताभन्दा बढी सामान तथा यात्रु बोक्नु, सवारी साधनमा यान्त्रिक गडबडी हुनुजस्ता कारणले पनि दुर्घटना बढाएको छ । सडकलाई सुरक्षित बनाएर दुर्घटना न्यूनीकरण गर्न सरकारको प्रभावकारी नीति तथा कानुनको आवश्यकता टड्कारो देखिन्छ । दुर्घटना न्यूनीकरणमा सरकारी निकायको साथै यातायात व्यवसायी, सवारी चालक र यात्रु सबैको चासो र चिन्ता आवश्यक छ ।

Exit mobile version