हेटौँडा क्याम्पसले तीन दशकभन्दा लामो समयदेखि त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धन अन्त्य गरेको छ । हालै स्थापना भएको बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा सूचीकृत भएपछि हेटौँडा क्याम्पसले त्रिभुवन विश्वविद्यालयका शैक्षिक कार्यक्रममा विद्यार्थी भर्ना बन्द गरेको हो । क्याम्पसले शैक्षिक सत्र २०८२/०८३ का लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्नातकोत्तर तह (एमएड) पहिलो सेमेस्टरमा विद्यार्थी भर्नाका लागि प्रवेशपरीक्षा समेत सञ्चालन गरे पनि कक्षा सञ्चालन नहुने जानकारी दिएको छ । क्याम्पसले बिहीबार एक सूचना जारी गर्दै एमएड कार्यक्रमको अन्तर्वार्ता तथा प्रवेश परीक्षा सम्पन्न गरी नतिजा प्रकाशित गरिए पनि बागमती प्रदेश विश्वविद्यालय अन्तर्गत आङ्गिक क्याम्पसको रूपमा सञ्चालन हुने भएपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गत नयाँ भर्ना नगर्न निर्देशन प्राप्त भएको जनाएको छ ।

गत पुस २८ गते हेटौँडा क्याम्पस सञ्चालक समिति, बागमती विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको कार्यालयले गरेको सम्झौताअनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कक्षा सञ्चालन नहुने भएको हो । दुई विश्वविद्यालय एउटै क्याम्पसमा सञ्चालन गर्न कठिन हुने भएकाले हेटौँडा क्याम्पसले बागमती विश्वविद्यालय अन्तर्गतको शैक्षिक कार्यक्रममात्र सञ्चालन गर्न लागेको जनाएको छ । क्याम्पसमा बागमती विश्वविद्यालय अन्तर्गतको बीबीए र बीएडका कक्षाहरू सञ्चालन भइरहेको छ । आगामी वर्षबाट स्नातक तहका एलएलबी, बीएचएम, बीपीएम र स्नातकोत्तर तहका कक्षाहरू समेत सञ्चालन हुनेछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न तह र संकायमा हाल पठनपाठन गरिरहेका विद्यार्थीहरुको पढाइ पूरा भएपछि क्याम्पसमा बागमती विश्वविद्यालयका शैक्षिक कार्यक्रममात्र सञ्चालन हुनेछन् ।

देशकै प्रतिष्ठित, पुरानो र धेरै विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन नगर्दा क्याम्पसका धेरै शिक्षक प्रभावित हुनेछन् । नयाँ विश्वविद्यालयको शैक्षिक कार्यक्रमप्रति विद्यार्थीको आकर्षण हुन सकेन भने क्याम्पस संकटमा समेत पर्नसक्ने सम्भावना रहन्छ । बागमती विश्वविद्यालय हालै स्थापना भएकाले यसका शैक्षिक कार्यक्रमको प्रभावकारिता परीक्षण हुन सकेको छैन । विश्वविद्यालयको शैक्षिक कार्यक्रम पूरा गरेका जनशक्ति उत्पादन भएपछि मात्र त्यसको प्रभावकारिता उजागर हुँदै जानेछ । हाल बागमती विश्वविद्यालयले हेटौँडा क्याम्पससहित काठमाडौँका दुईवटा, बनेपाको एउटा र चितवनको दुईवटा गरी जम्मा ६ वटा क्याम्पसलाई आङ्गिक क्याम्पसको रुपमा मान्यता दिएको छ । ती क्याम्पसहरुमा हाल बीबीए, बीएड र बीआईटी कक्षाहरु सञ्चालन भइरहेका छन् । बागमती विश्वविद्यालय अन्तर्गतका शैक्षिक कार्यक्रमहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय मागअनुसारको भएको दावी गरिए पनि पुष्टि हुन कम्तिमा पनि चार वर्ष कुर्नुपर्ने हुन्छ ।

अहिले देशका अधिकांश विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेशिने क्रम चलिरहेको छ । देशमा भएका अधिकांश विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरुमा विद्यार्थी भर्ना दर निकै न्यून हुँदै गएको छ । त्रिभुवन विश्वविद्यालयका शैक्षिक कार्यक्रममा हजारौँ विद्यार्थी भर्ना गरिरहेको हेटौँडा क्याम्पसले बागमती विश्वविद्यालयको शैक्षिक कार्यक्रममा त्यत्तिकै विद्यार्थी भर्ना गराउन र उनीहरुलाई टिकाउन सकेमा क्याम्पसको भविष्य उज्ज्वल हुनसक्छ । क्याम्पसले बागमती विश्वविद्यालयको शैक्षिक कार्यक्रमहरुमा आवश्यक विद्यार्थी भर्ना गर्न सकेन भने क्याम्पसको भविष्य नै अन्योलमा पर्ने सम्भावना रहन्छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन त्यागेर बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेको हेटौँडा क्याम्पसका लागि यतिबेला चुनौती र अवसर दुबै उत्तिकै रहेको देखिन्छ । क्याम्पस व्यवस्थापन तथा प्रशासनले चुनौतीको सामना गर्दै अवसरको सदुपयोग गर्न सकेमा थप सफलता पाउने विश्वास गर्न सकिन्छ ।